नेकपाको फुट यस कारण चीनका लागि ‘गुड न्युज’ हाेइन

शिलापत्र

काठमाडौँ

राेहेज खतिवडा

राष्ट्रवादी छवि बनाएका केपी ओली स्थिरताको मुख्य नारा दिएर चुनावमा होमिएका थिए । चुनावको तीन वर्षपछि उनले संसद् विघटन गर्दै मुलुकलाई अस्थिरता र अनिश्चयको बाटोमा मात्रै धकेलेनन्, विभिन्न शक्तिराष्ट्रको चलखेलका लागि मैदानसमेत खाली गरिदिए ।

चुनावी अभियानमा भारत र पश्चिमा राष्ट्रविरुद्ध तथानाम बोल्दै जनसमर्थन बटुलेका उनले अन्तत: तिनै शक्तिलाई चलखेल गर्ने ठाउँ बनाइदिए । यति मात्रै होइन, यो कदम चाल्न उनले ती शक्तिसँग कुनै न कुनै किसिमको सहकार्यसमेत गरे ।

यसको ठीक विपरीत, चुनावताका चीनसँग कसिएको उनको मित्रताको अन्त्य गरे र चीनलाई असन्तुष्ट बनाउने काम गरे । केही काल राष्ट्रवादको प्रयोगपश्चात् उनी त्यही ठाउँमा आइपुगे, जुन ठाउँमा महाकाली सन्धिताका थिए ।

संसद् विघटन नितान्त ‘विदेशी षड्यन्त्र’ मात्रै हो भनेर ठोकुवा गर्न सकिँदैन । पछिल्लो कालखण्डका सम्पूर्ण घटनाक्रम मुख्यत: नेकपाका दुई अध्यक्षको अहंकार, इगो, दम्भ, भय र लालसाको परिणाम हो । तर, स्वाभाविक रूपमा शक्तिराष्ट्रहरू यसभित्र छिर्छन्, र आफ्नो राजनीति गर्छन् । राष्ट्रिय राजनीतिका शक्तिकेन्द्रहरूमार्फत उनीहरू आफ्नो हित प्रवर्द्धन गर्ने निरन्तर प्रयत्नमा हुन्छन् ।

खासगरी, भारत र पश्चिमा मुलुकका लागि पछिल्लो चुनावी परिणाम र नेकपा एकीकरणले नेपालको आन्तरिक राजनीतिमा खेल्ने मैदान बन्द गरिदिएको थियो । अहिलेको ओलीको कदमले त्यो मैदान उनीहरूका लागि फेरि खुला भएको छ । यसको अर्थ उनीहरूले ओलीलाई सहयोग र समर्थन गर्छन् भन्ने होइन । शक्तिको होडमा रहेका हरेक समूहसँग उनीहरूले सहकार्यको प्रयत्न गर्छन् । साथै, एकअर्काविरुद्ध उचाल्ने र त्यसबाट लाभ लिने गर्दछन् ।

नेपालको आफ्नै अनुभव र अन्यत्रको इतिहासले भारत र अमेरिका दुवै अस्थिरताबाट लाभ लिन माहिर छन् भन्ने देखिन्छ । पछिल्लो समय चीनविरोधी रणनीतिले यी दुवै मुलुकलाई एक ठाउँमा उभ्याएको छ । त्यसैले, उनीहरूको नेपाल नीति पनि चीनको प्रभाव कम गर्ने र आफ्नो (मूलत: भारतीय) प्रभाव बढाउनेमा केन्द्रित भएको देखिन्छ ।

प्रकाशित मिति: : 2020-12-23 16:11:00

प्रतिकृया दिनुहोस्