झापाको बुद्धशान्ति गाउँपालिकाका पूर्व प्रमुख प्रशासकीय अधिकृत तथा इलाका प्रशासन कार्यालय गौरीगञ्जका प्रमुख धनञ्जय साह पक्राउ परेका छन्
शनिबार साँझ जिल्ला प्रहरी कार्यालयबाट गएको टोलीले उनलाई पक्राउ गरेको हो । उनीसँगै कार्यालयका सहयोगी आसिर आलमसमेत पक्राउ परेका छन् ।
केही दिनअघि तीनजना गैरनागरिकलाई किर्ते नागरिकता प्रमाणपत्रसहित राहदानीका लागि सिफारिस गरेको आरोपमा उनीहरुलाई पक्राउ गरिएको जनाइएको छ ।
जिल्ला प्रहरी कार्यालय झापाका प्रबक्ता राकेश थापाले सोधपुछका लागि उनीहरुलाई जिल्ला प्रहरी कार्यालय ल्याएको बताएका छन् ।
किर्ते नागरिकताको विषयमा उनीहरुमाथि उजुरी परेपछि सिआइबीले अनुसन्धान थालेको र त्यसक्रममा प्रहरीले पक्राउ गरेको सहायक प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर शाहीले बताए ।