लकडाउनले टुरिष्ट गाइडलाई बनायो ज्याकेट उत्पादक (भिडियाे रिपाेर्ट)

कमल प्रभात

काठमाडाै‌ं

संसारमा कोरोना महामारी फैलनुअगाडि तेन्जिङ शेर्पा ‘माउन्टेन गाइड’ को काम गर्थे। उनको दैनिकी हिमालको सेरोफेरोमा बित्थ्यो । 

देश–विदेशबाट हिमाल चढ्न आउने पर्यटकलाई हिमालको चुचुरो चढ्ने बाटो देखाउने तेन्जिङ काम हो । उनले गाइडको काम गर्न लागेको १० वर्ष भइसकेको थियो । 

तेञ्जिङ हिमालमै हुँदा संसारमा कोरोना भाइरस फैलियो । अरु देशहरुले नेपाल सरकारले पनि कोरोना फैलनबाट बच्न लकडाउन ग¥यो । त्यसपछि अधिकांश पेशा संकटमा परे । 

तेञ्जिङको पेशा पनि बन्द भयो । लकडाउनमा उनी करिब एक महिनासम्म कोठामै थुनिए । हिमालको सेरोफेरोमा डुलिरहेने तेन्जिङको मनले कोठामै थुनिएर बस्न मानेन । 

यता सरकारले थोरै–थोरै गर्दै लकडाउनको समय पनि बढाउँदै आएको थियो। लकडाउन कहिले अन्त्य हुने टुंगो थिएन। तेञ्जिङको पर्यटन उ्रद्योग कहिले खुल्ने भन्ने अनिश्चित भयो । 

त्यसपछि तेञ्जिङ नयाँ विकल्पको खोजीमा लागे । उनको मस्तिष्कमा हिमाल चढ्दा आफूले लगाउने ज्याकेट उत्पादन गर्ने सोच पलायो । उनले हिमाल चढ्दा धेरैजसो ज्याकेट विदेशमा उत्पादन भएका लगाउँथे । 

विदेशबाट नेपालमा आउने ज्याकेट नेपाली बजारमा स्वभाविक रुपमै महंगा हुन्छन् । त्यस्ता ज्याकेट सबैले किन्न नसकिने हुन्छन । त्यस कारण पनि उनले नेपालमै सस्तो ज्याकेट उत्पादन गर्ने सोच बनाए । 

तेञ्जिङले यो सोच बनाउनुअघि पनि नेपालमा धेरै किसिमका ज्याकेट उत्पादन हुन्थे तर हिमाली जाँदा लगाइने त्यस्ता ज्याकेट राम्रो लागेको थिएन। उनले हिमालमा पथ–प्रदर्शकको काम गर्दा एक दशकसम्म लगाएका ज्याकेटहरुको अनुभव आफ्नै उत्पादनमा प्रयोग गर्ने सोच बनाए।

लकडाउनकै बीच उनले आफ्ना साथी पासाङ गेल्जेङ शेर्पासँग मिलेर ज्याकेट उत्पादन सुरु गरे । दुई साथीले मिलेर नेपालमै ‘एभरेष्ट आउटफिट’ नामबाट ज्याकेट उत्पादन सुरु गरे । 

उत्पादन बजारमा ल्याउनुअघि उनीहरुले आफ्नो उत्पादन नेपालकै खम्बु क्षेत्रदेखि विदेशका हिमाल अरोहीहरुसँग पनि परीक्षण गराएका थिए । आफ्नो उत्पादन ज्याकेट सगरमाथादेखि अण्टार्कटिकासम्म परीक्षण प्रयोग गरिएको उनले बताए । परीक्षण गर्दा सफल हुने देखेपछि ज्याकेट उत्पादनमा लागे। 

तेञ्जिङ र उनको साथी पासाङले ताइवान, चीन र बंगलादेशबाट कच्चा पदार्थ ल्याइरहेका छन् । अनि काठमाडौंमा ज्याकेट बनाइरहेका छन। 

उनीहरुका ज्याकेट नेपालमा भित्रिने विदेशीभन्दा सस्तो मूल्यमा पाइन्छ तर गुणस्तर भने विदेशी ब्राण्डको भन्दा कम नरहेको तेञ्जिङको दाबी छ।

 उनीहरुले आफ्नो उत्पादन काठमाडौंको ठमेलबाट मात्र बिक्रीवितरण भइरहेको छ । 

केही महिनाभित्रै नेपालका विभिन्न सहरमा आफ्नो ज्याकेटको बजार विस्तार गर्ने योजना छ । अहिले देशभरिबाट आफ्नो ज्याकेटको माग आइरहेको तेञ्जिङले बताए ।

प्रकाशित मिति: : 2020-12-27 19:41:00

प्रतिकृया दिनुहोस्