ललिता निवास जग्गा प्रकरण: उमाकुमारी ढकाल्नी धरौटीमा रिहा

बिएल संवाददाता

काठमाडाै‌ं

बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा आफ्नो नाममा पारेको अभियोग लागेकी उमाकुमारी ढकाल्नी धरौटीमा रिहा भएकी छन्।

उनी बिहिबार थुनछेकका लागि विशेष अदालतमा उपस्थित भएकी थिइन्। ढकाल्नी दुई लाख रुपैयाँ धरौटीमा रिहा भएको विशेष अदालतका प्रवक्ता पुष्पराज पाण्डेले जानकारी दिए।

विशेष अदालतका अध्यक्ष न्यायाधीश प्रेमराज कार्की, न्यायाधीशहरू अब्दुल अजिज मुसलमान र नित्यान्द पाण्डेयको इजलासले बिहीबार धरौटीमा छाड्ने आदेश दिएको हो। 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ढकाल्नीसँग ९१ लाख २० हजार रुपैयाँ बिगो मागदाबी गरेको छ।

ढकाल्नी प्रमुख अभियुक्त डा. शोभाकान्त ढकालकी पत्नी हुन्। सरकारी र सार्वजनिक जग्गा बेचेको अभियोग लागेका डा. ढकालसँग अख्तियारले ३९ करोड भन्दा बढी बिगो मागदाबी गरेको छ।

अख्तियारले ढकाल दम्पत्तीसहित १७५ जनालाई प्रतिवादी बनाएर २२ माघ २०७६ मा विशेष अदालतमा मुद्दा दर्ता गरेको थियो।

ललिता निवास क्याम्पाभित्रको २९९–९–२–० रोपनी सरकारी, सार्वजनिक तथा गुठी समेतका जग्गा ढकालले विभिन्न प्रभावशाली व्यक्तिहरूलाई प्रभावमा पारेर बेचविखन गरेको भन्दै अख्तियारले अदालतमा मुद्दा दर्ता गरेको हो। 

प्रकाशित मिति: : 2020-12-31 17:45:00

प्रतिकृया दिनुहोस्