रोल्पाः नेकपा विभाजनले पूर्वएमाले पंक्तिलाई क्षति देखिदैन

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विभाजनको प्रभाव यतिबेला गाउँगाउँमा पुगेको छ। केपी शर्मा ओली पक्ष र प्रचण्ड–माधव नेपाल पक्षका भेलाहरू जिल्ला–जिल्लामा भइरहेका छन्। 

तर, तत्कालीन माओवादीको १० वर्षे जनयुद्धबाट प्रभावित रोल्पामा भने अन्य जिल्ला झैं नेकपा विभाजनको रस्साकस्सी देखिएको छैन। 

रोल्पामा एमाले–माओवादी कित्ता पार्टी एकतापूर्व जस्तै अहिलेसम्म प्रस्ट देखिन्छ। पार्टी एकता हुँदा तत्कालीन एमालेको तर्फबाट ५४ जना जिल्ला कमिटी सदस्य रहेका थिए। ती मध्ये ४६ ओली पक्षको समर्थनमा रहेका छन्। यस अर्थमा पनि नेकपा विभाजनले रोल्पाको पूर्वएमाले पंक्तिलाई ठूलो क्षति गरेको देखिदैन। 

पार्टी एकताका सन्दर्भमा समेत उबेला बहुमत नेता/कार्यकर्ता सन्तुष्ट थिएनन्। बाध्यात्मक अवस्थाले नेतृत्वको पछि लागे पनि पूर्वएमाले माओवादीसँगको एकतामा सकारात्मक देखिदैन्थें। 

पूर्वएमालेभित्र माओवादी युद्धकालमा पीडित बनेकाको ठूलो जमात छ। त्यसकारण पनि उनीहरू माओवादी पृष्ठभूमिका नेतालाई नेतृत्व मान्न सक्दैनन्। तर, पार्टी एकतामा पूर्वएमालेको तर्फबाट जिल्ला सचिव बनेका हरिप्रसाद घर्तीमगर भने खुलेरै प्रचण्ड–नेपाल समूहमा लागेका छन्। 

उनी योगेश भट्टराई निकट मानिन्छन्। एकतापूर्व घर्तीमगरलाई पूर्वएमाले समूहले भने पूर्वमाओवादीसँग हिमचिम बाक्लिँदा सचिव बनाउनसमेत अस्विकार गरेको थियो। अन्ततः शक्ति सन्तुलनका कारण उनी नै सचिव बने। 

एकताका बेला जिल्लामा कायम गरिएको ६० (माओवादी) र ४० (एमाले) प्रतिशत यथावत देखिएको छ। ओली पक्ष स्रोतका अनुसार पूर्वमाओवादीका कतिपय नेता/कार्यकर्ताहरु अहिलेसम्म खुलेका छैनन्। 

उनीहरु पार्टीको चुनाव चिन्ह ‘सूर्य’ जता जान्छ, उतै जाने पक्षमा रहेका छन्। पूर्वमाओवादीबाट जनप्रतिनिधि बनेकाहरू समेत कुनै पनि समूहमा नखुल्दा नेकपा (प्रचण्ड–माधव) नेता बर्षमान पुनले फोनमार्फत ताकेता गरिरहेका छन्।

पछिल्लोपटक नेता पुनले ओली पक्षमा लागेका जिल्ला तहका नेता÷कार्यकर्तालाई रोक्नका लागि नियमितजसो फोन गर्ने गरेको ओली पक्षका जिल्ला सदस्यले बताएका छन्। 

नेकपा ओली पक्षको केन्द्रीय कमिटी सदस्यमा जिल्लाबाट ७ जना रहेका छन्। रोल्पाबाट गोकुल घर्ती, कुमार दसौदी, शान्तकुमार वली, बालाराम बुढा, इश्वरी जिएम, मीना बुढा र रिमा नेपाली छन्। गोकुल भने पोलिटब्यूरो सदस्य नै हुन्। 

गत मंगलबार प्रचण्ड–नेपाल पक्षले आयोजना गरेको खुल्लासभामा पूर्वएमालेका नेता÷कार्यकर्ताको झिनो सहभागिता देखिएको छ। पूर्वएमालेको तर्फबाट जिल्लाको प्रतिनिधित्व गरेर बोल्ने वक्ता नपाउँदा दाङ निवासी प्रचण्ड–नेपाल समूहका नेता भागवत विश्वासी (पूर्वएमाले) लाई रोल्पा ल्याएको नेकपा (ओली पक्ष)का  एक नेताले बताए। 

त्यसैगरी ओली पक्षले पनि सुलिचौरमा बुधबार उपलब्ध केन्द्रीय सदस्य सहितको क्षेत्रिय कार्यकर्ता भेला सम्पन्न गरेको छ। उक्त भेलामा लुम्बिनी प्रदेशका मुख्यमन्त्री तथा नेकपा (ओली) लुम्बिनी इन्चार्ज शंकर पोखरेलको सहभागिता रहेको थियो। 

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) केन्द्रीय सदस्य कुमार दसौदी भन्छन्– ‘हाम्रो जिल्लामा ओली पक्ष वा प्रचण्ड–नेपाल पक्ष भन्ने छैन। पूर्वएमालेसँगै उताका (माओवादी) थुप्रै कमरेडहरू प्रधानमन्त्री तथा पार्टीको पहिलो अध्यक्ष कमरेड केपी शर्मा ओलीको साथमा छौं। रोल्पाली एमालेहरू एकजुट छौं र संस्थापन पक्ष भएको कारण माओवादीका धेरै साथीहरू नेकपा (ओली पक्ष)मै हुनुहुन्छ।’

१० वर्षे सशस्त्र युद्धमा रोल्पालाई माओवादी किल्ला घोषणा गरेतापनि २०७४ सालको स्थानीय निर्वाचनमा तत्कालीन माओवादीका लागि खस्किदो नतिजा आएको नेकपा (ओली पक्ष) केन्द्रीय सदस्य शान्तकुमार वलीले बताए। 

जिल्लाका १० तह र ७२ वडामध्ये तत्कालीन एमालेले २ गाउँपालिका सहित ११ वडा जितेको उनको भनाइ छ। पूर्वमाओवादीले सोचे जस्तो रोल्पा ‘क्लिन स्विप’ को सपनालाई तत्कालीन एमाले र कांग्रेसले भत्काइसकेको वलीको दाबी छ। 

‘सरकारले निर्वाचन मिति तोकिसकेको छ। जनता जनार्दन हुन्। प्रचण्ड–माधव समूह ताजा जनादेशमा गए सकिन्छौँ भन्ने भयले सडकमा रमिता देखाइरहनुभएको छ। हामी रोल्पालीहरु चुनावमा जान तयार छौं,’ वलीले भने।

प्रकाशित मिति: : 2021-01-03 11:52:00

प्रतिकृया दिनुहोस्