वासिङ्टनमा कडा सुरक्षा व्यवस्था, पुनः मतगणना कार्य सुरु

अमेरिको नवनियुक्त राष्ट्रपतिको आधिकारीक घोषणाका लागि अन्तिम मतगणनाको कार्य पुनः सुचारु भएको छ। राष्ट्रपति डोनाल्ड ट्रम्पका समर्थक केही समयअघि संसद भवन क्यापिटल हिलभित्र प्रवेश गरेर प्रदर्शन गर्न थालेपछि पुरै प्रक्रियालाई केही समयका लागि स्थगित गरिएको थियो। 

तर, नेशनल गार्डसलगायत विभिन्न सुरक्षा निकायले संसद भवनलाई सुरक्षा प्रदान गरेपछि मतगणनाको कार्यविधि पुनः सुचारु गरिएको छ। बुधबार ट्रम्पका समर्थक हिंसक बन्न पुगेपछि नेशनल गार्डसले गोली चलाउनु परेको तथा यो घटनामा एक महिलाको निधन भएको बताइएको छ। 

केही समयपछि हाउस अफ रिप्रिजेन्टेटिभकी सभामुख नेन्सी पेलोसीले भनिन्, ‘हामी कुनै डर बिना आफ्नो कार्यलाई निरन्तरता दिनेछौं।’ अमेरिकी चुनावको प्रारम्भिक मतगणनाको नतिजामा मोहर लाग्यो भने आज जो वाइडेन आधिकारीक रूपमा अमेरिकाको नयाँ राष्ट्रपति घोषित हुनेछन्। र, उनको सत्तारोहण २० जनवरीमा हुनेछ। 

अमेरिकामा ३ नोभेम्बरमा चुनाव भएको थियो। जसमा वाइडेनले ३ सय ६ र ट्रम्पले २ सय ३२ मत प्राप्त गरेका थिए। चुनावी नतिजा स्पष्ट भएपछि ट्रम्पले हालसम्म पराजय स्वीकार गरेका छैनन्। उनले मतदानको बेला र मतगणनाको बेला ठूलो धांधली भएको आरोप लगाउदै आइरहेका छन्। केही राज्यमा उनले मुद्धा पनि दर्ता गर्न लगाएका छन्। तर, केही राज्यमा उनको निवेदन अदालतले खारेज गरिसकेको छ। 

बुधबार इलेक्टोरल कलेजको मतगणना तथा वाइडेनको जितको आधिकारीक घोषणा हुनुअघि दंगा भड्किएको थियो। संसद भवनबाहिर जम्मा भएका ट्रम्प समर्थक केही समयपछि भित्र प्रवेश गर्न थालेपछि नेशनल गाडर््स र सुरक्षाकर्मी हर्कतमा आएको थियो। 

दुबै सदनमा हिंसा भड्किएपछि केही समयका लागि कार्यवाही स्थगित गर्नुपरेको थियो। अहिले हुलदुंगाकारीलाई बाहिर निकालेर पुनः संसदको कार्यवाही अगाडि बढाईको छ। 
घटनापछि युएस आर्मीको विशेष युनिटीलाई तैनाथ गरिएको छ। घटनाको २० मिनेटभित्र ११०० विशेष गार्ड्सले संसद भवनबाहिर सुरक्षा गरिरहेका छन्। राजधानीमा कर्फ्यु लगाइएको छ।

प्रकाशित मिति: : 2021-01-07 08:31:00

प्रतिकृया दिनुहोस्