ट्रम्पकी छाेरी भन्छिन्,‘शान्तिपूर्ण विरोध देशभक्तिपूर्ण हुन्छ, हिंसा अस्वीकार्य छ’

बिएल संवाददाता

न्यूयाेर्क

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले संसद् भवन यूएस क्यापिटोलमा फैलाएकाे हिंसाबारे उनकी छोरी इभान्काले आलोचना गरेकी छन्। 

उक्त घटनामा कम्तीमा चारजनाको ज्यान गएको छ।  इभान्काले ट्वीट गर्दै लेखिन्, ‘शान्तिपूर्ण विरोध देशभक्तिपूर्ण हुन्छ। हिंसा अस्वीकार्य छ र यसलाई कठोर शब्दमा भर्त्सना गरिनुपर्छ।’

उनले अमेरिकी देशभक्तहरू, सुरक्षा भंग गर्ने वा कानून कार्यान्वयन अधिकारीलाई अपमान गर्ने काम अस्वीकार्य रहेकाे बताइन्। 

उनी लेख्छिन्, ‘हिंसा अस्वीकार्य छ। कृपया सम्मान देखाउनुस्।’

ट्रम्पका सयौं समर्थकहरूले बुधवार अमेरिकी संसदमा आक्रमण गरी निर्वाचनमा उनको हारलाई उल्ट्याउने प्रयास गरेका थिए। राष्ट्रपति निर्वाचित जो वाइडनको विजयलाई प्रमाणीकरण गर्ने संसद्को सत्रलाई रोक्ने र संसद् भवन कब्जा गर्ने प्रयास उनीहरूले गरेका थिए। 

ट्रम्प समर्थकहरूलाई संसद् परिसरबाट हटाउनका लागि तीन घन्टा संघर्ष गर्नुपरेको थियो। समर्थकहरू संसद् भवनका हलवेमा दौडेका थिए अनि विभिन्न कार्यालयमा पसेर विध्वंस मच्चाएका थिए। 

ट्रम्पलाई जनवरी २० अगाडि नै हटाउने प्रक्रियाको माग 

डेमोक्रेट सांसदहरूले राष्ट्रपति ट्रम्पलाई जनवरी २० अगाडि नै हटाउने प्रक्रियाको माग राखेका छन्। 

ट्रम्प सत्तामा बसिरहन अनुपयुक्त ठहर गर्दै उनलाई हटाउने प्रयास थाल्न सांसदहरूले आह्वान गरेका हुन्।   

ट्रम्पको मन्त्रिपरिषद्कै सदस्यहरूले पनि उनलाई पदबाट हटाउने सम्भावनामा छलफल गरिरहेको बताइन्छ। 

अमेरिकी संविधानको २५औं संशोधनमा टेकेर उपराष्ट्रपति तथा मन्त्रिपरिषद्ले राष्ट्रपतिलाई हटाउन सकिने छ।

प्रकाशित मिति: : 2021-01-07 12:16:00

प्रतिकृया दिनुहोस्