जी न्यूजले भन्यो, ‘सगरमाथा नेपालकै हो, तर नाम माउन्ट सिकदर राख्नुपर्छ’

सगरमाथा क्षेत्रमा पुगेर विवादित बयान दिएका भारतीय टेलिभिजन च्यानल जी न्यूजका प्रधान सम्पादक सुधीर चौधरीले माफी मागेका छन्।

बुधबार टेलिभिजनको डिएनए कार्यक्रममा सगरमाथा क्षेत्रको कालापत्थरमा उभिएर, सगरमाथालाई पृष्ठभूमिमा राखेर चौधरीले भारतीय नाम माउन्ट सिकदर दिने अभियान थाल्न आग्रह गरेका थिए।

तर चौधरीले दिएको अभिव्यक्ति चौतर्फी आलोचना भएपछि अन्ततः सोही कार्यक्रमबाट नै माफी मागेका हुन्।

‘माउन्ट एभरेस्टमा भारतको दाबी हुनुपर्छ भनेर बिल्कुलै भन्न खोजिएको होइन। माउन्ट एभरेस्ट नेपालकै हो र नेपालकै रहनेछ। नेपालबाट कसैले छिन्न सक्दैन,’ उनले भने।
उनले नेपाल-भार सम्बन्ध  राम र लक्ष्मणको जस्तो रहेको पनि बताएका छन्।

‘हामी नेपाली दर्शक र नेपाली भाइबहिनीलाई भन्न चाहन्छौं भारत र नेपालबीच राम र लक्ष्मणको जस्तो सम्बन्ध छ र सँधै रहनेछ। ‘सरकार त आउँछन् जान्छन् तर, दुई देशबीचको नागरिकको सम्बन्धमा हार्दिकता हुनुपर्छ,’ उनले भनेका छन्।

तर उनले भारतले पनि यसलाई माउन्ट एभरेस्ट नभनेर माउन्ट सिकदर नामले जान्नुपर्ने धारण व्यक्त गरेका छन्।
 
’हामीलाई नेपालका आफ्ना दर्शकलाई निराश तुल्याउनु छैन। तपाइँहरुलाई निराश तुल्याउने उद्देश्य पनि छैन। माउन्ट एभरेस्टबाट माउन्ट सिकदर हुनु भनेको यसमा भारतको कब्जा हुन्छ भन्ने होइन,’ उनले भनेका छन्।

माउन्ट एभरेस्टकाे नाम परिवर्तन गरेर बेलायती शासकहरुले गरेको गल्ती सुधार्न सकिने समेत उनले बताएका छन्।

‘यो नेपाल र तिब्बतको सिमानामा सँधै मौजुद रहन्छ। यसबाट केवल त्यो गल्ती सुधार्न सकिन्छ जतिबेला बेलायतले आफ्नो शासनमा जाने बुझेर अंग्रेजी नाम राखेका थिए। यसलाई सुधार्न कोसिस गरिएको हो। यदि नेपालीले यो कुरालाई स्वीकार गर्छन् भने यसमा उनको महानता झल्कनेछ,’ उनले भनेका छन्।

के भनेका थिए चाैधरीले ?

आज म यहाँ उभिएर भन्न चाहन्छु कि भारतसँग माउन्ट एभरेस्टको के साइनो छ? ‘म भन्न चाहन्छु कि माउन्ट एभरेस्टमाथि भारतको पनि दाबी हुनुपर्छ। 

वर्ष १८५२ मा राधानाथ सिकदरले पहिलोपटक माउन्ट एभरेस्टको उचाइ मापन गरेका थिए। सर्भे अफ इन्डियाले उनलाई यो जिम्मेवारी दिएको थियो। उनलाई आदेश थियो– तपाईं जानुहोस् र  सगरमाथालाई ‘पिक १५’ को उचाइ नापेर आउनुहोस्। 

राधानाथ सिकदर बंगालका प्रख्यात गणितज्ञ थिए। उनले माउन्ट एभरेस्टको उचाइ नापे। माउन्ट एभरेस्टको उचाइ नाप्ने उनी नै पहिलो व्यक्ति थिए। भारतमा त्यसवेला अंग्रेजको शासन थियो, त्यसैले उनीहरूले आफ्नो हिसाबले नाम राखिदिए। एन्ड्रयु वा जो जर्ज एभरेस्टका उत्तराधिकारीको रूपमा सर्भे अफ इन्डियाको प्रमुख थिए। उनले यो शिखरको नाम माउन्ट एभरेस्ट राखिदिए। 

जसले न कहिले माउन्ट एभरेस्ट देखेका थिए न त कहिल्यै आएका थिए।

हामी भन्न चाहन्छौँ कि यो शिखरको नाम राधानाथ सिकदरको नामबाट राख्नुपथ्र्यो। आज हामी भन्न चाहन्छौँ, यो शिखरको नाम राधानाथ सिकदरको नामबाटै हुनुपर्छ। भारतले यसका लागि अभियान चलाउनुपर्छ, भारतका जनताले पनि अभियान चलाउनुपर्छ। हामीले पनि माउन्ट एभरेस्टमाथि आफ्नो दाबी पेस गर्नुपर्छ, पूरै दुनियाँका सामुन्ने। 

तपाईं पनि माउन्ट एभरेस्टलाई माउन्ट सिकदर भन्ने हाम्रो अभियानमा सहभागी हुनुस्। यो अभियान आजबाट हामी सुरु गर्दै छौँ। हामी यो माग उठाइरहेका छौँ माउन्ट एभरेस्टको नाम माउन्ट सिकदर हुनुपर्छ। अब भारतले पनि माउन्ट एभरेस्टमाथि आफ्नो दाबी सारा विश्वका अगाडि राख्नुपर्छ।’

प्रकाशित मिति: : 2021-01-13 23:53:00

प्रतिकृया दिनुहोस्