प्रचण्ड पार्टी एकता जोगाउनभन्दा समीकरणको बाटोबाट सत्तामा पुग्ने हतारोमा हुनुहुँदो रहेछ: मुख्यमन्त्री शंकर पोखरेल

बिएल संवाददाता

काठमाडाै‌ं

लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले नेकपा (प्रचण्ड) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पार्टी एकताको लागि गम्भीर नभएको बताएका छन्। प्रतिनिधिसभा विघटनको दिन पुस ५ गते बिहान प्रचण्डलाई भेट्दा उहाँ पार्टी एकताप्रति सकारात्मक नदेखिएको बताए। 

त्यसदिन जनार्दन शर्मासहित खुमलटार गएर प्रचण्डसँग गरेको छलफलबारे मुख्यमन्त्री पोखरेलले सामाजिक सञ्जाल (फेसबुक) मा लेखेका छन्, ‘प्रतिनिधिसभा विघटनको दिन पनि एकताको रक्षाका लागि म प्रचण्ड कमरेडको निवासमा थिए, जनार्दन शर्माको साथमा। त्यस दिन मैले जनार्दन शर्माले सुझाएको विकल्पलाई महत्वका साथ सुझाएको थिए। तर कमरेड प्रचण्ड त्यस प्रति एकरती पनि सकारात्मक देखिनुभएन।’

पोखरेलले प्रचण्डमा पार्टी एकता जोगाउनतिर भन्दा पनि समीकरणको माध्यमबाट सरकारमा जाने हतारोमा लागेको पनि आरोप लगाएका छन्। पोखरेलले लेखेका छन्, ‘मेरो तर्फबाट प्रस्तुत अन्य विकल्पमा पनि उहाँ सकारात्मक देखिनुभएन। उहाँ आफ्नो भित्री योजनामा निकै प्रतिवद्ध भइसक्नुभएको रहेछ। उहाँ सहमतिमा होइन, समीकरणको बाटोबाट सत्तामा पुग्ने हतारोमा हुनुहुँदो रहेछ। नेपाली राजनीतिमा आज हामी त्यसको परिणाम बेहोर्दै छौं।’

प्रकाशित मिति: : 2021-01-14 13:38:00

प्रतिकृया दिनुहोस्