वाइडेनको शपथ समारोह नजिकिँदै गर्दा अमेरिकाका ५०सै राज्यमा ‘हाई अलर्ट’ (भिडियाे)

बिएल संवाददाता

न्युयाेर्क

नवनिर्वाचित राष्ट्रपति जो वाइडेनकको शपथ ग्रहण गर्ने मिति नजिकिँदै गर्दा अमेरिकाका सबै राज्यमा सुरक्षा व्यवस्था कडा पारिएको छ।

सम्भावित हिंसालाई मध्यनजर गरेर अमेरिकाको सुरक्षा व्यवस्था कडा पारिएको हो। वासिङ्गटन डिसीमा राष्ट्रपति तथा उपराष्ट्रपतिमा निर्वाचित वाइडेन तथा कमला ह्यारिसले जनवरी २० मा जिम्मेवारी सम्हाल्दै छन्।

यही जनवरी ६ मा अमेरिकी संसद् भवनमा भएजस्तो हिंसा नहोस् भनेर देशभरबाट नेसनल गार्डका टुकुडी ह्वाइट हाउस रहेको राधजानी वासिङ्टनमा पठाइएको छ। 

जनवरी ६ मा संसद् बैठक चलिरहेकै बेला ट्रम्पका समर्थकले हमला गर्दा एक प्रहरीसहित ५ जनाको मृत्यु भएको थियो।  शपथग्रहणको तयारी भइरहँदा राष्ट्रपति ट्रम्प सार्वजनिक जिम्मेवारीबाट पर छन्।

उनले  राजधानी वासिङ्टन डिसीमा जनवरी ११ देखि २४ सम्मका लागि आपतकाल घोषणा गरेका छन्।

वाइडेनको शपथ ग्रहण समारोहमा सहभागी नहुने बताएका ट्रम्पले आफ्ना लागि रेडकार्पेट तथा २१ तोपको सलामीसहितको बिदाई कार्यक्रमको तयारी गरेको छन्।

जनवरी ६ मा वाइडेनको जितलाई आधिकारिकता प्रदान गर्नका लागि सदनको संयुक्त सत्र जारी रहेका बेला हतियारसहित ट्रम्पका समर्थकले संसद भवनमा आक्रमण गरेका थिए।

आक्रमणअघिको सम्बोधनमा राष्ट्रपति ट्रम्पले आफ्ना समर्थकलाई उक्साएका थिए।

ट्रम्पले नतिजा उल्ट्याउनका लागि आफ्ना समर्थकलाई उक्साएका कारण त्यसले हिंसाको रुप लिएको र प्रजातन्त्रमाथि गम्भीर आक्रमण भएको भन्दै सो घटनाको निन्दा भएको छ।

हिंसात्मक बिद्रोहका लागि उक्साएको अभियोगमा राष्ट्रपति ट्रम्पमाथि दोस्रोपटक महाअभियोग लागेको छ। 

संविधानको २५ औँ संशोधनको सेक्सन ४ मा उपराष्ट्रपतिले बहुमत मन्त्रीहरुको साथमा राष्ट्रपतिलाई शक्तिहिन गर्न सक्ने व्यवस्था रहेको छ। यता अमेरिकी उपराष्ट्रपति माइक पेन्सले राष्ट्रपति ट्रम्पलाई बर्खास्त नगर्ने बताएका छन्। 

तल्लो सदनकी सभामुख न्यान्सी पेलोसीले २५ औँ संशोधनको व्यवस्था सक्रिय पारेर राष्ट्रपतिबाट ट्रम्पलाई हटाउने पक्षमा रहे–नरहेको जानकारी दिन पठाएको पत्रको जवाफमा उपराष्ट्रपति पेन्सले आफू त्यसको पक्षमा नरहेको जानकारी गराएका थिए। 

त्यसपछि तल्लो सदनले २५ औँ संशोधन सक्रिय बनाएर राष्ट्रपतिबाट ट्रम्पलाई हटाउन उपराष्ट्रपतिलाई आग्रह गर्ने प्रस्ताव पारित गरेको हो।

जनवरी ६ मा भएको घटनापछि संघीय अनुसन्धान ब्यूरो (एफबिआई)ले सबै ५० राज्य तथा डिस्ट्रिक्ट अफ कोलम्बियासहितमा ट्रम्पका समर्थकले १६ देखि २० जनवरीसम्ममा सम्भावित हिंसात्मक प्रदर्शनको तयारी गरेको चेतावनी दिएको थियो। 

स्थानीय अधिकारीले नागरिकलाई शपथ समारोह आआफ्ना घरबाटै हेर्न अपिल गरेका छन्। ट्रम्पका समर्थकले जनवरी १७ अर्थात् आज सशस्त्र आन्दोलन गर्ने धम्की दिएका छन् भने राजधानी वासिङ्टन डिसीमा पनि जुलुस निकाल्ने बताएका छन्।

सोही कारण अमेरिकाका ५० वटै राज्य र डिस्ट्रिक्ट अफ कोलम्बिया (डीसी) मा सुरक्षा व्यवस्था कडा पारिएको छ।

डीसीस्थित नेसनल मल बन्द गरिएको छ। कडा सुरक्षाबीच सडकमा बार लगाइएको छ। वाइडेनको टिमले पहिले नै कोरोना महामारी भएकाले राजधानीको यात्रा नगर्न भनिसकेको छ।

म्यारिल्यान्ड, न्युमेक्सिको र युटाका राज्यपालले सम्भावित विरोध प्रदर्शनलाई विचार गरेर आपतकाल घोषणा गरेका छन्।

क्लालिफोर्निया, पेन्सलभेनिया, मिसिगन, भर्जिनिया, वासिङ्टन र बिस्कान्सिन राज्यले आफ्ना नेसनल गार्डलाई सक्रिय बनाएका छन्। 

प्रकाशित मिति: : 2021-01-17 07:14:00

प्रतिकृया दिनुहोस्