रुसी राष्ट्रपति पुटिनका कट्टर आलोचक विमानस्थलबाटै पक्राउ

रुसका प्रतिपक्षी नेता एलेक्सी नाभाल्नी पक्राउ परेका छन्। राष्ट्रपति भ्लादिमिर पुटिनका तीव्र आलोचक नाभाल्नीलाई पाँच महिना पहिले कथितरुपमा विष खुवाइएपछि कोमामा पुर्‍याइएको थियो। 

गएको अगस्टमा साइबेरियाली शहर टोमस्कबाट राजधानी मस्को फर्कनेक्रममा बिमानमा असहज महशुस गरेका नाभाल्नीलाई ओम्स्क अस्पतालमा भर्ना गरिएको थियो।

उपचार सम्भव नभएपछि ४४ वर्षीय नाभाल्नीलाई जर्मनी लगिएको थियो। जर्मनीबाट आएलगत्तै उनलाई मस्कोको शेरेमेत्येभो विमानस्थलबाट रुसी अधिकारीले पक्राउ गरेको हो।

नाभाल्नीका हजारौँ समर्थकहरु मस्कोको अर्को विमानस्थलमा उनको स्वागतका लागि भेला भएका थिए। 

तर उनी सवार विमान डाइभर्ट गरेर अर्को विमानस्थलमा अवतरण गरि पक्राउ गरिएको हो। उनका समर्थकहरुलाई पनि प्रहरीले पक्राउ गरेको छ।

नाभाल्नीका समर्थकहरुले उनले विमानस्थलको क्याफेमा खाएको चियामा विषाक्त पदार्थ मिलाइएको र सत्ताले आफ्नो अपराध ढाकछोप गर्न चाहेको आरोप लगाउँदै आएका छन्। उनीहरुले विमानमा चिया पिएलगत्तै असहज महशुस गरेका नाभाल्नी त्यसयता बेहोस रहेको बताएका छन्।

नाभाल्नीका समर्थक इभान झाडनोभले प्रहरीले नाभाल्नीको शरीरमा निकै खतरनाक पदार्थ भेटिएको जनाएको बताएका थिए। तर अधिकारीहरुले उक्त पदार्थका बारेमा बताउन अस्वीकार गरेका छन्। 

नाभाल्नी राष्ट्रपति भ्लादिमिर पुटिनका आलोचक हुन्। गएको जुनमा राष्ट्रपति पुटिनले आफूलाई थप दुई कार्यकाल सत्तामा टिक्नका लागि मार्ग प्रशस्त गर्ने गरी संवैधानिक परिवर्तन गरेका थिए। सो बेला नाभाल्नीले त्यसलाई संविधानको उल्लंघन र ‘कू’ का रुपमा परिभाषित गरेका थिए।

खोज पत्रकारहरुले संकलन गरेका प्रमाणहरुले भने नाभाल्नीको हत्या प्रयासमा सत्ताकै संलग्नता देखिएको छ। नाभाल्नी पक्राउ परेको खबर सार्वजनिक भएसँगै युरोपियन युनियन, फ्रान्स, इटालीसहितले त्यसको निन्दा गरेका छन्।

अमेरिकाको राष्ट्रपतिमा निर्वाचित भएका जो बाइडेनका प्रस्तावित राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिभानले घटनाको निन्दा गरेका छन्।

प्रकाशित मिति: : 2021-01-18 08:06:00

प्रतिकृया दिनुहोस्