ज्लाटनको दुई गोलमा मिलानको जित

 शीर्षस्थानमा रहेको एसी मिलानले इटालियन सिरी ‘ए’ मा क्याग्लिएरीमाथि २–० को सहज जित निकालेको छ।

सोमबार राति भएको खेलमा भेट्रान फरवार्ड ज्लाटन इभ्राहिमोभिचको दुई गोल सहयोगमा मिलानले क्याग्लिएरीमाथि उसकै मैदानमा सहज जित हात पारेकाे हाे।

क्याग्लिएरीमा मिलानले खेलको सातौ मिनेटमा  पेनाल्टी बक्समा ब्राहिम डियाजमाथि ल्याकोजियानिसले फल गरे। प्राप्त पेनाल्टीमा ज्लाटन चुकेनन्। 

५२औं मिनेटमा ज्लाटनले व्यक्तिगत दोस्रो गोल गर्दै मिलानलाई २–० ले अघि बढाए। 

७४औं मिनेटमा मिलान १० खेलाडीमा समेटियो। ६६औं मिनेटमा जेन्स पिटस हगको स्थानमा मैदान छिरेका एलेक्सिस साइलेमेकर्स दोहोरो पहेलो कार्ड खादै मैदानबाट बाहिरिए।

जितसँगै मिलानले शीर्षस्थानमा स्पष्ट ३ अंकको अग्रता लिएको छ। मिलानको १८ खेलबाट ४३ अंक पुगेको छ। समान खेलबाटै दोस्रो स्थानमा रहेको इन्टर मिलानको ४० अंक छ। पराजित क्याग्लिएरी १४ अंकसहित १७औं स्थानमा छ।

प्रकाशित मिति: : 2021-01-19 07:13:00

प्रतिकृया दिनुहोस्