सबैका सत्यमोहन

गोरखापत्र

काठमाडौँ

श्रीओम श्रेष्ठ ‘रोदन’

वास्तविक महापुरुषको पहिलो चिनारी नम्रता हो भन्ने रस्किनको भनाइ ठ्याक्कै लागू हुन्छ, सत्यमोहन जोशीमाथि । ज्ञान र अनुभवले भरिपूर्ण भए पनि उहाँ देखिएजस्तै सरल र विनम्र हुनुहुन्छ । व्यक्ति एक भएर अनेक व्यक्तित्वका धनी हुनुहुन्छ । समुद्रजस्तै गहिरो छ, ज्ञानको भण्डार । कुवेरको ढुकुटीजस्तै छ, अनुभव । जे खोज्यो त्यही भेटिने । भण्डारहरूको पनि भण्डारजस्तै । आवश्यकताअनुसार जसले जत्रो भाँडो लिएर गयो, त्यसले त्यति नै भर्न सक्ने ।
कविता, कथा, नाटक, लोकसाहित्य, निबन्ध, संंस्कृति, दर्शन, कला, पुरातŒवजस्ता विषयका ज्ञाता हुनुहुन्छ । पुस्तकहरूले पनि अभिलेखै कायम गरेका छन् उहाँका । नजानेको केही छैनजस्तो, नबुझेको केही छैनजस्तो । जुन क्षेत्रको जुनै सन्दर्भमा पनि घण्टौँ बोल्न सक्नुहुन्छ । ‘ज्याक अफ अल मास्टर अफ नन’ भन्ने अङ्ग्रेजी उखानलाई माथ खुवाइदिनुभएको छ र बन्नुभएको छ– ‘ज्याक अफ अल मास्टर अफ अल’ ।
अहिले थाक्नै नपर्नेहरू उमेरभन्दा बढीको बोझले थिचिएका छन् । हातलाई भाग्य मानेर सुन्दर सम्भावना कुरिरहेका छन् । अलिकति घामले छुनासाथ उन्मादले मात्तिएर हुनुपर्नेभन्दा ठूलो बन्न खोजिरहेका छन् । तर, सत्यमोहन भने टुँडिखेलको घोडेजात्रामा दौडिने घोडाजस्तै वेगमा हुनुहुन्छ । थकाइ मार्न बिर्सिएजस्तै दौडिरहनुभएको छ, निरन्तर शताब्दी पार गरिसक्दा पनि ।

प्रकाशित मिति: : 2021-01-23 08:29:00

प्रतिकृया दिनुहोस्