शालिग्राम करिडोरमा एकैसाथ दुई पुल निर्माण शुरु

सांकेतिक तस्बिर

तनहुँको देवघाटबाट मुस्ताङको मुक्तिनाथसम्म जोड्ने छोटो दूरीको शालिग्राम करिडोरमा एकैसाथ दुई पक्की पुल निर्माण शुरुआत भएको छ । 

उक्त करिडोरअन्तर्गत ऋषिङ गाउँपालिकाका दुई खोलामा पक्की पुल निर्माण शुरु भएको हो ।

शालिग्राम लोकमार्गको चर्चा चले पनि बजेट अभावले काम सुस्तगतिमा अगाडि बढिरहेको सन्दर्भमा प्रदेश सरकारको गौरवको योजनामा शालिग्राम करिडोरलाई महत्वका साथ राखेर काम अगाडि बढाइएको छ ।

 यस वर्ष शालिग्राम करिडोरको तनहुँ खण्डमा कामले गति लिएको छ । लोकमार्गको बैडी–घिरिङ–देवघाट खण्डको २१.५ किलोमिटर सडक स्तरोन्नतिको काम दुई महिना अगाडि नै शुरु भइसकेको छ । घिरिङ गाउँपालिका–१ स्थित द्वपदी खोलामा पक्की पुल निर्माणसमेत थालिएको छ ।

करिडोर लोकमार्गमा पर्ने दुई खोलामा एकैसाथ पक्की पुल शिलान्यास गरी निर्माण शुरु गरिएको छ । ऋषिङ गाउँपालिका–४ र ५ लाई जोड्ने गरी ज्वालाखोलामा र ऋषिङ–५ को रुपटार र पिपलटारलाई जोड्ने गरी लुम्दीखोलामा बन्ने पक्की मोटरेबल पुलको गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले शिलान्यास गरे । 

पूर्वाधार विकास कार्यालयका अनुसार ज्वालाखोलामा २५ मिटर लामो र ८.४ मिटर चौडाको ओपन फाउण्डेशनको पुल बन्नेछ । आगामी असार २५ गते निर्माण सम्पन्न गर्ने गरी यती बिल्डर्स प्रालि ललितपुरलाई ठेक्का दिइएको कार्यालयका प्रमुख ओमराज ढुङ्गानाले जानकारी दिए । रु चार करोड २१ लाखको स्टिमेट गरिए पनि रु तीन करोड २१ लाख एक हजार ६३७ मा ठेक्का लागेको छ । 

लुम्दीखोलाको पुल पनि ओपन फाउण्डेशनमै बन्नेछ । ५० मिटर लम्बाइ र ८.४ मिटर चौडाइको पुल निर्माणका लागि वाइएसएस निर्माण सेवा सुर्खेतले रु पाँच करोड ५१ लाख ९२ हजार २४० मा ठेक्का सम्झौता गरेको ढुङ्गानाले जानकारी दिनुभयो । यो पुल आगामी भदौ १० गतेभित्र सम्पन्न गर्नुपर्ने म्याद तोकिएको छ ।

स्थानीयवासी लक्ष्मण श्रेष्ठले करिडोर निर्माणले गाउँमा विकासको लहर ल्याउनेमा विश्वस्त रहेको बताए । उनले सडक पुलसँगै गाउँमा खानेपानी, सिँचाइ र बिजुली बत्तीको आवश्यकता रहेको सुनाए । उन भने, 'सिँचाइको मात्रै व्यवस्था भयो भने यहाँका सुख्खा फाँटहरु हराभर हुनेछन् । आफ्नै उत्पादनले खान पुग्ने थियो ।'

आर्थिक मामिला तथा योजनामन्त्री गुरुङले शालिग्राम करिडोर आसपासका स्थानीवासीयको जीवनस्तर उकास्न महत्वपूर्ण रहेको बताए । 'प्रदेश सरकारले यो लोकमार्गलाई गौरवको योजनामा समावेश गरेर प्राथमिकता दिएको छ' उनले भने । पुल निर्माणको काम दु्रतगतिमा अगाडि बढाएर सम्झौता मितिभित्रै सम्पन्न गर्न मन्त्री गुरुङको निर्देशन छ । 'समयमै काम सम्पन्न भएमा भुक्तानीका लागि प्रदेश सरकार तत्पर छ । काममा ढिलाइ भयो भने बजेट व्यवस्थापनमा समस्या हुन्छ' उनले भने । विकास निर्माणमा राजनीतिक आग्रह पूर्वाग्रह राख्न नहुने मन्त्री गुरुङको भनाइ थियो ।

सङ्घीयताको कारण विकास निर्माण तीव्रगतिमा अगाडि बढेको उल्लेख गर्दै मन्त्री गुरुङले प्रतिनिधिसभा भए पनि गण्डकीमा नेकपाकै सरकार रहने र विकासको गति नरोकिने दाबी गरे । जनताको आवश्यकता पूरा गर्न सरकार सदैव तयार रहेको उनको भनाइ छ ।

निर्वाचनको तयारी शुरु

सरकारले वैशाख १७ र २७ गते आम निर्वाचनको घोषणा गरेसँगै जिल्लामा निर्वाचनको तयारी शुरु गरिएको छ । 

जिल्ला निर्वाचन कार्यालयले यही माघ १५ गतेदेखि मतदाता नामावली अद्यावधिक गर्न लागेको जानकारी दिएको छ । 

कार्यालयले जिल्लाका १० वटै स्थानीय तहमा सहायक नाम दर्ता अधिकारी तोकिसकेको जिल्ला  कार्यालयका प्रमुख महेश शर्माले जानकारी दिनुभयो । उहाँका अनुसार सहायक नाम दर्ता अधिकारीलाई अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिनेछ । 

गत पुस ५ गतेसम्ममा मतदाता नामावलीका लागि नाम सङ्कलन भई सोही मितिसम्म १८ वर्ष पुगेका व्यक्तिको नामावली अद्यावधिकका लागि सबै स्थानीय तहमा नामावली पठाइने उनले बताए ।  मतदाता नामावली प्रकाशन, कुनै मतदाताको नाम वा विवरणमा कुनै त्रुटि भएमा सच्याउनका लागि निवेदन दिने, कसैले झुटा विवरण दिई मतदाता नामावलीमा नाम समावेश गरेको भए प्रमाणसहित उजुरी दिने, दोहोरो नाम हटाउन निवेदन दिनेलगायतका कार्य गरिनेछ । 

विसं २०७४ को निर्वाचनअनुसारमा दुई लाख ११ हजार ३९६ मतदाता रहेका थिए । गत पुस ५ गतेभन्दा अगाडि दुई लाख ३१ हजार ४२० मतदाता पुगेका छन् । 'यसबीचमा २० हजार २४ मतदाता थपिएको अवस्था छ, अद्यावधिक सकेपछि वास्तविक मतदाता पहिचान हुनेछन्',उनले भने । जिल्लामा गत निर्वाचनमा १० वटै स्थानीय तहमा गरी १३६ मतदानस्थल र २६५ मतदान केन्द्र रहेका छन् । 

प्रमुख जिल्ला अधिकारी एवं मतदानस्थल तथा मतदान केन्द्र सिफारिस समितिका अध्यक्ष सागर आचार्यले निर्वाचनको तयारीका लागि दुईपटक बैठक बसी आवश्यक तयारी शुरु गरिएको जानकारी दिए । 

उनका अनुसार जिल्लामा मतदान केन्द्र हेरफेर र पुनरावलोकनका लागि छलफल भए पनि टुङ्गो लाग्न बाँकी छ । 'राजनीतिक दलहरुका तर्फबाट मतदान केन्द्र थप्न प्रस्ताव आएको छ' उनले भने, 'माघ १३ र १४ गते पुनः बैठक बस्छौँ, त्यसपछि केही टुङ्गो लाग्ला ।' रासस 

प्रकाशित मिति: : 2021-01-23 18:53:00

प्रतिकृया दिनुहोस्