राष्ट्रपति पुटिनको विरोधमा विशाल प्रदर्शन, तीन हजार भन्दा बढि पक्राउ

photo:. (AP Photo/Dmitri Lovetsky)
photo:. (AP Photo/Dmitri Lovetsky)

रुसी प्रहरीले विपक्षी नेता एलेक्सी नाभाल्नीकाे रिहाको माग गर्दै प्रदर्शनमा उत्रिएका तीन हजार भन्दा बढि समर्थकलाई पक्राउ गरेको छ।

प्रहरीले नाभाल्नीको समर्थनमा भएको प्रदर्शनमा हस्तक्षेप गरि तीन हजार भन्दा बढिलाई पक्राउ गरेको अनुगमन कर्ताले बताएका छन्।
 
प्रदर्शनमा विद्यार्थीदेखि पाको उमेरका व्यक्तिसम्म सहभागी रहेको थियाे।

गएको आइतबार पक्राउ परेका नाभाल्नीले प्रदर्शनका लागि आह्वान गरेका थिए। 

रुसका एक सय भन्दा बढि शहर तथा बजारहरुमा नाभाल्नीको रिहाको माग गर्दै प्रदर्शन गरेका हुन्। 

मस्कोको मध्य क्षेत्रमा भएको प्रदर्शनमा कम्तीमा ४० हजार मानिस सहभागी भएको जनाइएकाे छ।

अनुगमनकर्ताहरुले भने रुसभर शनिबार भएको प्रदर्शनमा सहभागीको संख्या अधिक रहेको बताएका छन्।

 तर रुसको आन्तरिक मामिला मन्त्रालयले भने सो संख्या चार हजार मात्रै रहेको दाबी गरेको छ।

राष्ट्रपति भ्लादिमिर पुटिनका तीव्र आलोचक नाभाल्नीलाई पाँच महिना पहिले कथितरुपमा विष खुवाइएपछि कोमामा पुर्‍याइएको थियो। 

गएको अगस्टमा साइबेरियाली शहर टोमस्कबाट राजधानी मस्को फर्कनेक्रममा बिमानमा असहज महशुस गरेका नाभाल्नीलाई ओम्स्क अस्पतालमा भर्ना गरिएको थियो।

उपचार सम्भव नभएपछि ४४ वर्षीय नाभाल्नीलाई जर्मनी लगिएको थियो। जर्मनीबाट आएलगत्तै उनलाई मस्कोको शेरेमेत्येभो विमानस्थलबाट रुसी अधिकारीले पक्राउ गरेको हो।

त्यसको विरोधमा नाभाल्नीका समर्थकहरुले प्रदर्शन गर्दै आएका छन्। मस्कोमा दंगा प्रहरीले प्रदर्शनकारीलाई कुटेको तथा लतार्दै लगेको देखिएको थियो।

पछिल्लो केही वर्ष यता पुटिन विरुद्ध भएको ठूलो प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको हो।

प्रकाशित मिति: : 2021-01-24 07:47:00

प्रतिकृया दिनुहोस्