म्यानचेस्टर युनाइटेडका फरवार्ड मार्कुस रासफोर्डले आफूले जति नै मानवीय काम गरेपनि सोसल मिडियामा दुर्बचन सुन्नु परेको बताएका छन्।
गरिबीका कारण खान नपाएका बालबालिकाका लागि खाना उपलब्ध गराउँदै आएका २२ वर्षीय स्ट्राइकरलाई उनको मानवीय कार्यका लागि हालै ‘एमबीई’ अवार्डबाट सम्मानित गरिएको थियो। तर, शनिबार उनले आफ्नो इन्स्टाग्राममा सयौं जातिय प्रतिक्रिया प्राप्त गरेका थिए, जब इंग्लिस स्ट्राइकरको क्लबले आर्सनलविरूद्ध गोलरहित बराबरीमा खेल टुङ्ग्याएको थियो।
‘म कालो जातिको प्रतिनिधित्व गर्छु र हरेक दिन गर्वसाथ बाच्ने गर्छु, जे म छु,’ उनले ट्वीटरमा भनेका छन्, ‘जस्तो सुकै कमेन्टले पनि मलाई खासै फरक पर्दैन। यसका लागि क्षमाप्रार्थी छु, यदी तपाईहरूले मबाट कडा प्रतिक्रियाको अपेक्षा गर्नुभएको छ भने।’
उनले आफूविरूद्ध विषवमन गर्ने कमेन्टलाई स्क्रिनसटमा सेयर नगर्ने प्रस्ट पारे। आर्सनल र इंग्ल्याण्डका पूर्व स्ट्राइकर इयान राइटले यस विषयमा आफ्नो स्पस्ट भनाई राखेका छन्। उनले सम्बन्धित अधिकारीले सोसल मिडिया कम्पनीसँग कुरा गरेर यस्तो हर्कत गर्नेको परिचय खुलाउन र कानुनी दायरमा ल्याउन आग्रह गरेका छन्।
टोटेनहामका पूर्व मिडफिल्डर जेरमाइन जेन्सले पनि यसप्रति दुःखेसो व्यक्त गरेका छन्। उनले यस्तो कार्यलाई निरुत्साही गर्न फुटबल संघ सक्रिय हुनुपर्ने बताए।