टेनिसमा तोरस र सलोनीको विजयी सुरुवात

नेपालका तोरस रावत र सलोनी तामाङले वर्ल्ड टेनिस टुर जे–५ को पहिलो सर्किटमा सोमबार विजयी सुरुवात गरेका छन्। पुरुष सिंगल्समा तोरस र महिलामा सलोनीले विजयी सुरुवात गरेका हुन् ।

सातदोबाटोस्थित टेनिस कोर्टमा तोरसले नेपालकै निहालजंग बहादुर थापालाई ६–२ र ६–१ को सोझो सेटमा पराजित गरे। नेपाल टेनिस संघद्वारा आयोजित प्रतियोगितामा सलोनीले भारतकी कृष्टी बोरोलाई ६–३ र ६–४ को सीधा सेटमा हराइन् ।

पहिलो दिन पुरुष सिंगल्स नेपालबाट निश्चल कायश्थ, प्रसिद्ध मोक्तान, आर्यन गिरी, जुवेन रावत, निशान श्रेष्ठ, आरभ सम्राट हाडा, इभ्येक जोशी, प्रितम परियार र चिराग तिमिल्सिनाले पनि प्रतिस्पर्धा गरेकोमा सबै पराजित भए। त्यस्तै महिला सिंगल्समा नेपालको चुनौती प्रस्तुत गरेका सर्वानी श्रेष्ठ, श्रेया भट्टराई, प्रेरणा कोइराला, इशाश्री शाह र अजा रेग्मीले पनि प्रतिद्वन्द्वीलाई नतिजा सुम्पे ।

प्रतियोगितामा समान ३२–३२ पुरुष÷महिला खेलाडीको सहभागिता थियो।  प्रतियोगितामा नेपाल, भारत, फ्रान्स, उज्वेकिस्तान, कजाकिस्तान, अमेरिका, बेल्जियम, स्पेन र जर्मनी गरी ९ राष्ट्र सहभागी छन् । नेपालबाट १२ पुरुष र १४ महिला खेलाडीले प्रतिस्पर्धा गरिहेका छन् । साताव्यापी प्रतियोगितामा सिंगल्स र डबल्स स्पर्धा समावेश छन्।

प्रकाशित मिति: : 2021-02-01 18:34:00

प्रतिकृया दिनुहोस्