बन्दकर्तालाई प्रधानमन्त्रीको प्रश्न, 'जनतालाई किन दुःख दिनुपर्‍याे?'

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली जनताले के बिगारेका थिए र 'नेपाल बन्द'को आयोजना गरेको भनेर बन्दकर्तालाई प्रश्न सोधेका छन्। 

नेपाल भूमिहीन सुकुम्बासी सङ्गठनको राष्ट्रिय भेलालाई बुधबार सम्बोधन गर्दै नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष ओलीले 'जनताले के बिगार गरेका थिए र नेपाल बन्द गरेर जनतालाई किन दुःख दिनुपर्‍याे?' भनी प्रश्न गरेका हुन्। उनले जनताले बन्द नभई निर्वाचन चाहेको बताए।  

'बन्द भनेपछि हिँडडुल गर्न पाइएन। केही किन्न जान पाइएन। पढ्न जान पाइएन। जनताले बन्द चाहेका छैनन्, जनताले निर्वाचन चाहेका छन्', उनले भने। उनले कम्युनिष्ट पार्टीको सरकार ढाल्ने, पार्टी फुटाउने र धुलो पार्न खोज्ने, कम्युनिष्ट पार्टीको बदनाम गर्न खोज्नेले कम्युनिष्ट क्रान्तिकारीको गफ दिएको आरोप लगाए। उनले अब सबै एकताबद्ध सही निर्णयका साथ गतिका साथ अगाडि बढ्ने र 'समृद्ध नेपाल, र सुखी नेपाली'को आकाङ्क्षा पूरा गर्ने बताए। प्रधानमन्त्री ओलीले जनताले आफूहरुलाई मतदान गर्ने भएकाले नेकपाको बहुमत आउने दाबी गरे। 

उनले सबै जिल्लामा सुकुम्बासी आयोग गठन भइसकाले काम अगाडि बढ्ने जानकारी दिए। उनले भने, 'सुकुम्बासीको समस्या समाधन नगर्दा देशको समस्या समाधान हुँदैन। तपाईहरुको समस्या समाधान नगर्दा जनताको उद्देश्य पूरा हुँदैन', उनले भने, 'त्यसैले सरकार आफ्नो उद्देश्यमा असफल हुन तयार छैन। सुकुम्बासीको समस्या समाधान हुन्छ।'

'पार्टीमा एउटा शुद्धीकरण हुनै पर्दथ्यो। तपाई सबैले देख्नुभयो। पार्टी पार्टी जस्तो थियो र? पार्टी झैँ चलेको थियो र? पार्टी जस्तै चलेकै थिएन?' उनको भनाइ रहेको थियो, 'पार्टी पार्टी जस्तो नचलेकाले एउटा  किनारा लाग्नुपर्ने थियो। त्यो आफ्नै ढङ्गले किनारा लाग्यो।' रासस

प्रकाशित मिति: : 2021-02-03 20:35:00

प्रतिकृया दिनुहोस्