प्रचण्ड–माधवको हड्तालप्रति कलाकारको प्रश्न–पद, पैसा र निजी स्वार्थमा लाग्ने हो भने समृद्ध नेपालको अवधारणा कसरी सफल हुन्छ?

प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको संसद विघटनको निर्णय असंवैधानिक भएको भन्दै आन्दोलनमा उत्रिएको नेकपा प्रचण्ड–माधव समूहले बिहीबार आम हडताल गरेको थियो।

हड्तालको कारण सर्वसाधरणले सास्ती व्यहोर्नु पर्यो। प्रचण्ड–माधव समूहका नेता, कार्यकर्ताले देशका विभिन्न स्थानमा सवारी साधनको ताड्फोड र आगजनी गरेका थिए। आन्दोलनकारी र प्रहरीबीच विभिन्न स्थानमा झडप पनि भएको थियो।

पार्टीको आन्तरिक कलहलाई लिएर आमहड्ताल गर्ने र सर्वसाधरणलाई सास्ती दिने नेताहरूको शैलीको कलाकारले विरोध गरेका छन्।

अभिनेता दीपकराज गिरीले सामाजिक सञ्जाल फेसबुकमार्फत विरोध जनाएका छन्। उनले फेसबुकमा व्यङ्गात्मक शैलीमा बुधबार राती नै लेखे,–‘भोलि प्रचण्ड समूहको आम हड्ताल रे, पर्सी प्रधानमन्त्रीको शक्ति प्रर्दशन रे, जनताले गरि खा भनेर सत्तामा पठाएको, घुमिफिरी जनतालाई दुःख दिन सडकमै आए।’

त्यस्तै अभिनेत्री वर्षा सिवाकोटीले जनताको हितको लागि गरिने राजनीति– पद, पैसा र निजी स्वार्थले दूर्षित बनाएको बताएकी छिन्। उनले आन्दोलनको विरोध जनाउँदै सामाजिक सञ्जालमा लेखेकी छिन्,–‘राजनीतिमा एकअर्काेको अपमान गर्नु, व्यक्तिगत आक्रमण गर्नु लाञ्छन लगाउनुु सामान्य भएको देख्छु, दुःख लाग्छ।’

सम्मानजनक राजनीति, जहाँ विपक्षीको बिचारको आलोचना मात्र हैन, विवेकपूर्ण विश्लेषण र विमर्श होस्। राजनीतिक दलहरूबीच स्वस्थ  प्रतिस्पर्धा होस्, जनताको मतको मानहोस्, कामप्रति निष्ठा र इमानदारिता होस्, यस्तो राजनीति कल्पनामा मात्र सिमित रह्यो भनेकी छन्।
उनले यसरी पद, पैसा र निजी स्वार्थमा लाग्ने हो भने समृद्ध नेपालको अवधारणा कसरी सफल हुन्छ? भन्दै प्रश्न गरेकी छिन्।

त्यस्तै पहिलो ‘मिस नेपाल’ रुवी राणाले आन्दोलनकारीले आगजनी गरेको ट्याक्सीको फोटो सामाजिक सञ्जालमा राख्दै यो बन्द कसको लागि भन्दै प्रश्न गरेकी छिन्। 
उनले मूर्खहरुको जमातले एक गरिबको रोजीरोटी गरी खाने आधारलाई नै यसरी आगोबाली ध्वस्त गर्नु कहाँसम्मको न्याय होला? भनेकी छिन्। 

प्रकाशित मिति: : 2021-02-04 19:47:00

प्रतिकृया दिनुहोस्