क्लोज क्याम्पका कान्छा खेलाडी : जसले पीएम कपमा देखाएका थिए ब्याटिङको जादु

पहिलोपोष्ट

काठमाडौँ

समर्थ रञ्जित

 १५ वर्षीय अर्जुन कुमाल शनिवार काठमाडौं आए राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमा सहभागी हुन्। नेपाल क्रिकेट संघ क्यानले माघ २२ गते आईसीसी सीडब्लुसी लिग २ अन्तर्गतको ओमन सिरिजका लागि ३२ खेलाडीको नाम सार्वजनिक गर्दा कुमाल पनि टिममा परेका थिए।

नेपाली क्रिकेट टोलीबाट उमेर समूहमा समेत प्रतिनिधित्व गरिसकेका कुमालले आजबाट राष्ट्रिय टिमको क्याम्पमा अभ्यास सुरु गरे।

अघिल्लो हप्ता सम्पन्न प्रधानमन्त्री कपमा उनले गण्डकी प्रदेश खेलेका थिए। प्रतियोगितामा गण्डकीको प्रदर्शन राम्रो हुन नसकेपनि व्यक्तिगत रुपमा कुमालले उत्कृष्ट प्रदर्शन गरेर सबैको ध्यान तान्न सके। पीएम कपमा गण्डकी प्रदेशका लागि सर्वाधिक रन बनाएका उनले ४ खेलमा ११७ रन बनाए। प्रतियोगितामा कर्णालीविरुद्ध ४६, प्रदेश १ विरुद्ध ३५ र त्रिभुवन आर्मी क्लबविरुद्ध ३६ रन जोडेका थिए उनले।

त्यसैले त उनी कलिलो उमेरमै राष्ट्रिय टोलीको क्याम्प सम्म बोलाइए।

कुमालको पैत्रिक घर गुल्मी भए पनि उनी भारतको नयाँदिल्लीमा बुवाआमासँगै बस्दै आएका छन्। उनी उतै क्रिकेट सिकेर नेपालमा प्रधानमन्त्री कप देखि उमेरसमूहमा राष्ट्रिय टोलीबाट पनि प्रतिनिधित्व गरिसकेका छन्।

नेपाली भाषा बोल्न नजाने पनि उनी बुझ्न भने स्पष्टसँग बुझ्छन्। हिन्दी या त अंग्रेजीबाट जवाफ दिन्छन्।

प्रकाशित मिति: : 2021-02-07 20:56:00

प्रतिकृया दिनुहोस्