सरकारले निजी क्षेत्रको सहकार्यलाई प्राथमिकतामा राखेको छ : प्रधानमन्त्री

फाइल तस्वीर
फाइल तस्वीर

प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको विकासका लागि सरकार सदैव निजी क्षेत्रसँगको सहकार्यमा अघि बढ्ने बताएका छन्। उनले विकास निर्माणको काम सरकारले मात्र एक्लैले गर्न सम्भव नभएकाले निजी क्षेत्रको सहकार्यलाई नै प्राथमिकतामा राखिएको बताए।

प्रधानमन्त्री ओलीले बुटवल उपमहानगरपालिका–३ देखि पाल्पाको तिनाउ गाउँपालिकाको वसन्तपुरसम्म पुग्ने लुम्बिनी केवलकारको शनिबार  बुटवलमा शिलान्यास गदै सरकारले निजी क्षेत्रसँगको सहकार्यमा विकासलाई अगाडि बढाउन जोड दिएको उल्लेख गरे। उनले  आयोजनाका निर्माणकर्ताहरुले आयोजनाको काम एक वर्षभित्र सक्ने प्रतिबद्धता जनाएकामा प्रशंसा गर्दै यसका लागि जे जस्तो सहयोग चाहिन्छ सरकारले पूरा गर्ने विश्वास दिलाए। उनले निजी क्षेत्रको आर्थिक लगानीमा सरकारले जग्गा उपलब्ध गराउने, बाटो निर्माण र ट्र्याक खोलेर निजी क्षेत्रसँग विकासमा सहकार्य गरिरहेको समेत बताए।

“कर तिर्नुस् नाफा कमाउनुस्”, उनले भने , “विकास सबैका लागि हुनुपर्छ र सबैका लागि विकास भएमा जनतामा पनि खुशी छाउँछ।” प्रधानमन्त्रीले कोभिड–१९ ले देशको पर्यटन क्षेत्रलाई पुगेको धक्कालाई समेत यस्ता आयोजनाहरुले मुलुकको पर्यटन क्षेत्रको विकासमा पनि सहयोग पुर्याउने विश्वास व्यक्त गरे। उनले बुटवलको जनसङ्ख्या, भारतको उत्तरप्रदेश एवम् लुम्बिनी आउने विदेशी पर्यटकमाझ यो केवलकार लोकप्रिय बन्नेछ भने ।

प्रधानमन्त्री ओलीले बुटवलमा मानव अस्तित्वको एक करोड वर्ष पुरानो आदिमानव रामापिथेकसको दाँत फेला परेको वैज्ञानिक तथ्यले पुष्टि भएको हुँदा मानव सभ्यताको उद्गमस्थल यस ऐतिहासिक ठाउँमा यस्ता विकासका पूर्वाधारले पर्यटन क्षेत्रको विकासमा थप मद्दत पुग्नेछ भने। उनले  बुटवल क्षेत्र ज्ञानमूभि, ध्यान भूमि र तपोभूमि रहेको भन्दै यसको धार्मिक, ऐतिहासिक र सांस्कृतिक महत्वलाई पनि सघाउ पुुर्याउने विश्वास व्यक्त गरे।

प्रकाशित मिति: : 2021-02-13 16:24:00

प्रतिकृया दिनुहोस्