भागरथी हत्या : दुई व्यक्ति प्रहरीको 'उच्च निगरानी'मा, प्रमाण जुटाउन कठिन

नेपाल लाइभ

काठमाडौं

बैतडी- बैतडीको दोगडाकेदार गाउँपालिका–७, चडेपानीकी १७ वर्षीया किशोरी भागरथी भट्टको बलात्कारपछि हत्या भएको आइतबार १२ दिन पुग्यो। माघ २१ गते, बुधबार विद्यालय गएकी भट्ट सम्पर्कविहीन भएपछि खोजतलास गर्दा बिहीबार बेलुका घरनजिकै स्थानीय लबलेक वनमा उनको शव भेटिएको थियो। त्यसयता प्रहरी निरन्तर अनुसन्धानमा लागिपरेको छ। तर, अझैसम्म घटनामा संलग्नको ठोस पहिचान गर्न सकेको छैन।

‘चिनजानकै व्यक्तिबाट भागरथीको बलात्कारपछि हत्या भएको हो भन्नेमा प्रहरी अलमलमा छैन’, अनुसन्धानमा खटिएका एक प्रहरी अधिकृतले भने, ‘हत्याका लागि बाहिरबाट कोही आउनेतिर हामीले सोचेकै छैनौं। भागरथीलाई एकोहोरो पिछा गर्ने मान्छेतिरै हाम्रो अनुसन्धान पुगेको छ।’  

घटना भएको १२ दिनसम्म आइपुग्दा अनुसन्धानको घेरा निकै साँघुरो भएको र अपराधी नजिक पुगेको प्रहरी दाबी गर्छ। प्रहरीको अहिलेसम्मको अनुसन्धानले भागरथीको बलात्कारपछि हत्या भएको घटनामा स्थानीय व्यक्तिकै संलग्नता रहेको अनुमान गरिएको छ। तर, अहिलेसम्म कसैलाई पक्राउ भने गरिएको छैन। 

किशोरीको घर वरिपरी भारतीय सिमकार्डले समेत काम गर्ने भएपनि सीमापारीबाट आएर अपराध गर्न सक्ने सम्भावना ज्यादै न्यून रहेको प्रहरीको निश्कर्ष छ। किनभने घटनास्थलबाट यदि हिँडेरै सीमा पार गर्ने हो भने झुलाघाट र पिथौरागढ पुग्न झण्डै ७ घण्टा लाग्छ। त्यसकारण पनि सीमापारीबाट अपराध गर्ने सम्भावना ज्यादै न्यून रहेको प्रहरीको बुझाई छ। 

प्रकाशित मिति: : 2021-02-14 19:24:00

प्रतिकृया दिनुहोस्