सामाजिक न्यायसहितको दिगो विकासमा प्रदेश सरकार कटिबद्ध रहेको मुख्यमन्त्री गुरुङको जिकिर

रासस

पोखरा

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षाले साकार रूप पाउने अभियानमा प्रदेश सरकार अघि बढेको बताएका छन्।

गण्डकी प्रदेश सरकार स्थापना दिवसका अवसरमा आज (मगंलबार) एक प्रेस विज्ञप्ति जारी गर्दै उनले स्वदेश तथा विदेशमा रहने प्रदेशवासी सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, समृद्धि र सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको कामना गरेका छन्। 

ऐतिहासिक अवसरमा राजनीतिक परिवर्तनका लागि भएका सम्पूर्ण शान्तिपूर्ण र सशस्त्र सङ्घर्षमा आफ्नो अमूल्य जीवन बलिदान गर्ने अमर शहीदहरुप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दै मुख्यमन्त्री गुरुङले सङ्घर्षका क्रममा घाइते र बेपत्ता भएका योद्धा परिवारप्रति सम्मान प्रकट गरे। 

नेपालको संविधानले व्यवस्था गरेको सहकारिता, सहअस्तित्व र समन्वयको सिद्धान्तमा आधारित रहेर तीन तहका सरकारबीचको सहकार्य र सम्बन्धलाई घनीभूत बनाउन सक्दा मात्र आर्थिक समृद्धि प्राप्त हुने विश्वास व्यक्त गर्दै शुभकामना सन्देशमा उनले समावेशी, सन्तुलित र सामाजिक न्यायसहितको दिगो सामाजिक, आर्थि र भौतिक विकासमा प्रदेश सरकार कटिबद्ध रहेको उल्लेख गरेका छन्।

प्रदेश सरकारको तीनवर्षे यात्राका क्रममा सम्पूर्ण राजनीतिक दल, सङ्घसंस्था, राष्ट्रसेवक कर्मचारी, सञ्चारकर्मी एवं आम नागरिकबाट प्राप्त साथ, समर्थन, सहयोग र रचनात्मक सुझावप्रति हार्दिक आभार प्रकट गर्दै सन्देशमा उनले भनेका  छन्, 'रचनात्मक सुझावको निरन्तरताले मात्र प्रदेश सरकारलाई पूर्णरूपमा सफल बनाएरै छाड्ने हाम्रो निष्ठापूर्ण प्रतिबद्धताले सार्थकता प्राप्त गर्नेछ भन्ने विश्वास लिएको छु।'

प्रकाशित मिति: : 2021-02-16 10:35:00

प्रतिकृया दिनुहोस्