बार्सिलोनाले यूईएफए च्याम्पियन्स लिग अन्तर्गत अन्तिम १६ चरणको पहिलो लेगमा लज्जास्पद हार व्यहोरेको छ।
मंगलबार राति घरेलु मैदान क्याप नाउमा भएको खेलमा बार्सिलोना पिएसजीसँग ४-१ को हार व्यहोरेको हो।
खेलको सुरुवातमै बार्सिलोनाले कप्तान लिओनेल मेस्सीको पेनाल्टीमा गोल गर्दै अग्रता लिएका थिए।
२७ औं मिनेटमा मिडफिल्डर फ्रेन्की डे जोङ पेनाल्टी क्षेत्रभित्र डिफेन्डर लेभिन कुर्जावाको खुट्टामा अल्झेर लडेपछि रेफ्रीले पेनाल्टी दिएका थिए ।
तर बार्सिलोनाको अग्रता ५ मिनेट पनि टिक्न सकेन ।
एमबाप्पेले खेल बराबरीमा ल्याए ।
दोस्रो हाफको ६५ औं मिनेटमा एमबाप्पेकै गोलमा पिएसजीले अग्रता लियो ।
त्यसको ५ मिनेटपछि फरवार्ड मोइस किनले अग्रता दोब्बर पारे ।
खेलको ८५ औं मिनेटमा एमबाप्पेले ह्याट्रिकसँगै पिएसजीलाई ४-१ को जित दिलाए।
अब पिएसजी र बार्सिलोनाबीच दोस्रो लेगको खेल १० मार्चमा पेरिसमा हुनेछ ।