बर्मेली विद्यार्थीद्वारा चिनियाँ राष्ट्रपतिलाई प्रजातन्त्र पुनर्स्थापनाका लागि साथ दिन अपील  

Photo - RFA Burmese
Photo - RFA Burmese

चिनियाँ राष्ट्रपति सी चिनफिङलाई बर्मामा प्रजातन्त्र पुनर्स्थापनाका लागि समर्थन गर्न बर्मेली विद्यार्थीद्धारा आग्रह गरिएको छ। 

सैन्य ‘कू’ विरुद्धको आन्दोलनमा सहयोग गर्न माग गर्दै १८ विद्यार्थी संगठनले राष्ट्रपति सीलाई सन्देश पठाएका हुन्।

उनीहरूले बर्मामा प्रजातन्त्र पुनर्स्थापना गर्न छिमेकी राष्ट्र चीनसँग अनुरोध गरेका छन्। विद्यार्थी संगठनले सैन्य शासनको कुनैपनि कोणबाट असल छिमेकीले समर्थन गर्न नसक्ने बताएका छन्।

म्यान्मार टाइम्सका अनुसार जनताको इच्छा र चाहना अनुरुप देशमा छिट्टै लोकतन्त्र बहाली हुने दाबी विद्यार्थीले गरेका छन्। उनीहरूले चिनियाँ राष्ट्रपतिमार्फत बर्मामा सैन्य सरकारलाई प्रजातन्त्रको सम्मान गर्न र पुरानो व्यवस्था फर्काउन अपील गरेको छ।

बर्मेली सेनाले दुई साताअघि प्रजातान्त्रिक नेतालाई नजरबन्दमा राखेर सत्ता चलाइरहेको छ। सैन्य सत्ताले ‘नेशनल लिग फर डेमोक्रेसी’ सर्वोच्च नेत्री आङ सान सु कीलगायतको पछिल्लो अवस्थाबारे कुनै जानकारी दिएको छैन।

बर्मामा सैन्य ‘कू’ विरुद्व सडक आन्दोलन जारी छ। प्रजातन्त्रको पुनर्स्थापनाका लागि दिनहुँ जसो राजधानी नेपिटोलगायतका मुख्य शहरमा प्रदर्शन भइरहेको छ।



Photo - Mjporta

सु की विरुद्वको मुद्दा मानवअधिकारको उल्लघंन हो- ब्रिटेन

ब्रिटेन सरकारले म्यान्मार सैन्य सत्ताको विरोध गरेको छ।

नेशनल लिग फर डेमोक्रेसी पार्टी सर्वोच्च नेत्री आङ सान सु की र राष्ट्रपति यु विन मिन्टलाई मंगलबार भिडियो कन्फरेन्समार्फत अदालतमा उपस्थित गराएकोप्रति ब्रिटेनका प्रधानमन्त्री बोरिस जोनसनले कडा निन्दा गरेका छन्।

नेत्री सु कीलगायतलाई तत्काल रिहा गर्न ब्रिटेन सरकारले म्यान्मार जुन्ता सरकारसँग माग गरेको छ। सैन्य सरकारले उनीसहित राष्ट्रपतिलगायतलाई कोरोना भाइरस नियम उल्लघंन गरेको आरोपमा मुद्दा चलाइएको छ।

भिडियोमार्फत अदालतमा उपस्थित बनाएको विषयलाई प्रधानमन्त्री जोनसनले बनावटी आरोप भएको बताएका छन्। 'यो मानवअधिकारको स्पष्ट उल्लघंन हो'- उनले भने। प्रजातान्त्रिक तवरले जनताबाट चुनिएका राजनीतिज्ञहरूलाई सैन्य दमन विरोध योग्य भएको उनले बताए।



सडकमा युवाको भिड बढेपछि अत्तालियो सैन्य सरकार

दिनहुँ प्रदर्शनकारीको संख्या सडकमा थपिन थालेपछि सेनालाई स्थिति नियन्त्रणमा राख्न धौं–धौं परेको छ। 

रंगुन, नेपिटो र कचिनलगायतका शहरमा युवाहरूको प्रदर्शन बढ्न थालेपछि सेनाले बख्तरबन्द गाडी सडकमा उतारेको स्थानीय बर्मेली नेपाली बताउँछन्। 

देशभर आन्दोलनले तीब्र रुप लिन थालेपछि सैन्य सुरक्षा बढाइएको छ। प्रजातन्त्रवादी जनतालाई सेनाका गाडीले रातभर गस्ती गरेर आंतकित पार्ने गरेको ‘नेशनल लिग फर डेमोक्रेसी पार्टी’का प्रवक्ताले जनाएका छन्।

आइतबार बेलुका आन्दोलनकारी र पत्रकारलाई सेनाले पक्राउ गरेको छ। उनीहरूले प्रदर्शनको प्रत्यक्ष प्रसारण गरिरहेका थिए। आन्दोलनरत भिडलाई नियन्त्रण गर्न सेनाले प्रदर्शनकारीमाथि गोली चलाएको थियो। जनताको तीब्र आक्रोस र विद्रोहलाई लिएर सेना अतालिएको विदेशी नियोगका अधिकारीले बताएका छन्। 

म्यान्मारमा सैन्य सरकारले इन्टरनेट सेवा पटक–पटक रोक्ने प्रयास गरिरहेको छ। सेनाको पछिल्ला गतिविधि सामाजिक सञ्जालबाट जतात्यतै फैलाउन थालेका छन्। युवापुस्ताले फेसबुक, ट्टवीटरको माध्यमबाट सेना विरोधी अभियानसमेत जारी राखेका छन्।

Photo - Mohan Gyawali (Myanmar)



सैन्य 'कू'विरूद्ध सडकमा उर्जा थपिदै, नेपालीभाषी पनि आन्दोलित

विगत एक सातादेखि म्यान्मारमा चलिरहेको सेनाविरूद्धको आन्दोलनमा जनताहरूको उपस्थिति बढ्न थालेपछि आन्दोलनकारीमा उर्जा थपिएको छ।

आइतबार म्यान्मारको प्रमुख शहर रंगुन, मान्डले र राजधानी नेपिटोलगायत बाहिर पनि अल्पसंख्यक आदिवासीले जुलुस निकालेका छन्। 

शहरमा प्रदर्शनकारीको बढ्दो उपस्थितिले जुन्ता सरकार थप दबाबमा देखिन्छ। प्रदर्शनकारीले आइतबार सैन्य ‘कू’ को विरोध गर्दै चुनावको नतिजालाई स्विकार गर्न तथा प्रजातन्त्रवादी नेत्री आङ सान सु कीलाई अविलम्ब रिहा गर्न आवाज उठाएका छन्। 

रंगुनका प्रदर्शनकारीले चीन तथा अमेरिकी दुतावासमा प्रदर्शन गर्दै म्यान्मारमा प्रजातन्त्र पुर्नबहालीका लागि सहयोग गर्न अनुरोध गरेका छन्। उनीहरूले बेइजिङले सैन्य सत्तालाई समर्थन गरेको आरोप लगाए।



सैन्य 'कू'विरुद्ध दाैरा-सुरुवाल लगाएरै सडकमा उत्रिए बर्मेली-नेपाली

म्यान्मारकाे माेगाेकमा सैन्य 'कू'काे विराेधमा बुधबार हजारौं मानिस नारावाजी गरिरहेका थिए। उक्त विराेध प्रदर्शनमा नेपाली पहिचान झल्कने दाैरा-सुरुवाल र ढाकाटाेपी लगाएकाहरु पनि थिए।

गत साता म्यानमारको सेनाले त्यहाँको नागरिक सरकार अपदस्थ गरी सत्ता हत्याएको थियो । स्वघाेषित सरकार चलाउने सेनाविरुद्ध आन्दोलन गर्न नेपाली मूलका बर्मेली नागरिकहरू पनि परम्परागत नेपाली पाेशाकमा विराेधमा सामेल भएका छन्। 

माेगाेक, नेपिटाे, रंगुन, माण्डले, मिचिना, टाउँजी, टमूलगायतका ठाउँहरूमा बर्मेली जनताकाे आन्दोलन जारी छ। माेगाेककाे आन्दोलनमा गाेर्खालीहरू पनि उत्रिएका छन्।

देशभरि जताततै सैन्य तानाशाही विरुद्ध विभिन्न पेशा, व्यवसायमा रहेकाहरू कामकाज नै छाडेर प्रदर्शनमा हाेमिएका छन्। 

गोर्खालीहरूले देशको रक्षाका लागि छातिमा गोली खाएर गरिमामय इतिहास राखेको बर्मेली नेपाली वरिष्ठ पत्रकार तथा साहित्यकार ज्ञानबहादुर बगाले 'थापा'ले बताए।

पूर्खाको इतिहासलाई कायम राख्दै मातृभूमि म्यान्मारको रक्षा गर्नु गोर्खालीहरूको कर्तव्य भएको थापा बताउँछन्। म्यान्मारमा लगभग डेढ लाख नेपालीभाषीहरू रहेका छन्।

उनीहरू सडकबाटै 'सैन्य नजरबन्द'मा रहेकी 'नेशनल लिग फर डेमोक्रेसी पार्टी' सर्वोच्च नेत्री आङ सान सु कीकाे रिहाइको माग गरिरहेका छन्। गाेर्खालीहरू नै 'प्रजातन्त्र पुनःस्थापन' र 'स्वतन्त्रता' लागि सडकमा आउनुलाई कतिपय अर्थपूर्ण मान्छन्। किनकि, म्यान्मारमा गाेर्खालीहरूकाे इतिहास वीरतासँग जाेडिएकाे छ। 

आन्दोलनमा सबै बर्मेली मानिसहरू मात्रै छैनन्। यहाँ त गाेर्खाली अर्थात् नेपालीभाषीहरू समेत सहभागी छन्। उनीहरू बर्मेली सेनाले अपहरण गरेको 'प्रजातन्त्र' र 'आमा सु की'लाई फिर्ता ल्याउन लागिपरेको बताउँछन्।

माेगाेक, मिचिना, टमू, रंगुन, याँगौं, नाउँछो, प्यिंउल्वींलगायतका स्थानमा नेपालीभाषी बर्मेलीकाे बाक्लो बस्ती रहेको छ। यी ठाउँहरूबाट सैन्य सरकारविरुद्ध एकजुट भएर बर्मेली नेपालीहरू सडक आन्दोलनमा उत्रिएका छन्।

सामाजिक संजालमा चर्काे विराेध गरेता पनि सडक प्रदर्शनमा आउने अपेक्षा थिएन। तर, नेपालीभाषी बर्मेलीहरू भने खुलेरै 'तानाशाही सेना'काे विपक्षमा लागेका हुन्। 

म्यान्मारको सैन्य सरकार हिंसात्मक भइरहेको बर्मेली नेपाली रीना वाग्ले बताउँछिन्। देशको रक्षाका लागि चलाउँनुपर्ने गोली प्रजातन्त्रको रक्षाका लागि सडकमा आएका जनतालाई चलाएको उनले बताइन्। उनी भन्छिन्, 'रोजै आँशु मात्र लिएर घर फर्कन्थे भने आज खुनका आँशु लिएर घर फर्किएका छन्।'

उनीहरू प्रजातन्त्रवादी नेत्री आङ सान सु कीकाे पक्षमा सामाजिक संजालदेखि सडक जनप्रदर्शनसम्म देखिएरै लागेका छन्। प्रायः बर्मेली नेपालीहरू नेत्री सु कीलाई 'आमा' भनेर सम्बाेधन गर्ने गर्छन्।

प्रकाशित मिति: : 2021-02-17 10:25:00

प्रतिकृया दिनुहोस्