द्वन्द्वपीडितको समस्या हल गर्न विशेष कार्यदल बनाउछौँ : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले दश वर्षलामो माओवादी सशस्त्र द्वन्द्वका पीडितहरुको समस्या सम्बोधन गर्न सरकारले एक विशेष कार्यदल बनाउने बताएका छन्।

आफ्ना पीडा अवगत गराउन बिहीबार प्रधानमन्त्री निवास बालुवाटार पुगेका द्वन्द्वमा मारिएका सुरक्षाकर्मीका परिवार तथा घाइते सुरक्षाकर्मीहरुसँगको छलफलका क्रममा प्रधानमन्त्री ओलीले यस्तो प्रतिबद्धता जनाएका हुन्।

गृहमन्त्री रामबहादुर थापा ‘बादल’ र सरकारका उच्च पदस्थ अधिकारीसहितको उक्त छलफलमा प्रधानमन्त्रीले भने, ‘अब क्षमा र पीडितलाई आवश्यकताअनुरुपको सहयोगमार्फत् द्वन्द्वका घाउहरुलाई क्रमशः पुर्दै लैजानुपर्छ।’

छलफलमा प्रधानमन्त्री ओलीले राज्यले शान्ति सुरक्षाका लागि खटाएका, राज्यविरुद्ध हतियार उठाउनेका तर्फबाट लडेका र कुनै पक्षमा सामेल नभए पनि आशंका वा रिसइबीमा मारिएका गरी तीन धारका द्वन्द्व पीडितहरु रहेको उल्लेख गरे।

‘जतापट्टिबाट गोली चलेर मारिएको होस्, तिनमा आश्रित एकल महिला, उसका अभिभावक उसमा आश्रित सन्तानको पीडाहरु उस्तै–उस्तै छन्’, उनले भने।

पेन्सन आदि केही पनि नपाउने द्वन्द्व पीडितको परिवार अरुभन्दा बढी समस्यामा रहेको पनि प्रधानमन्त्रीले बताए।

द्वन्द्वरत कुनै पक्षमै नभएका राजनीतिक कार्यकता र सर्वसाधारण जनता पनि थुपै संख्यामा पीडित रहेको उनले बताए। ‘यी सबै पक्षको माग कसरी सम्बोधन गर्न सकिन्छ भन्ने विषयमा सम्बद्ध सबैसँग बसेर छलफल गरी निष्कर्ष निकाल्नुपर्छ’, प्रधानमन्त्रीले भने।

जुनसुकै तर्फबाट लडेको भए पनि अब प्रतिशोधको राजनीति गर्न नहुने पनि प्रधानमन्त्रीले बताए। ‘अब क्षमा गर र बिर्सको भावबाट जानुपर्छ’, प्रधानमन्त्रीको भनाइ थियो। यद्यपि मैना सुनारको जस्तो जघन्य र गम्भीर प्रकृतिका घटनामा भने जोसुकैले पनि सजाय पाउने पनि प्रधानमन्त्रीले बताए।

द्वन्द्वमा मृतकका परिवार वा घाइतेबाहेक बहिर्गमित लडाकुको समेत अर्को खालको समस्या रहेको प्रधानमन्त्रीले उल्लेख गरे। ‘तीनचार वर्ष क्यान्टोनमेन्टमा बस्दा त्यो किशोरले सुरुमा देखेको सपना भाँच्चिइसकेको हुन्छ। उमेर कटेपछि अर्को सपना देख्ने ठाउँ नै हुँदैन’, प्रधानमन्त्रीको भनाइ थियो।

कार्यक्रममा द्वन्द्वपीडित सुरक्षाकर्मीको परिवारका तर्फबाट बोल्दै रीता सेनले सशस्त्र द्वन्द्वकालमा आफ्नो कर्तव्य पालन गर्दा कुल दुई हजार ८ सय ९४ जना सुरक्षाकर्मी मारिएको र झण्डै १ हजार जना घाइते भएको बताइन्। ती सुरक्षाकर्मी आश्रित परिवार र घाइते प्रहरीको अवस्था दयनीय रहेकोे पनि उनले उल्लेख गरिन्।

सेनले भनिन्, ‘ज्यान जोखिममा राखेर कर्तव्य पालना गर्ने प्रहरीको परिवारलाई राम्रै गरी राहत दिन सकिएमा अहिले कार्यरत जवान सुरक्षाकर्मी समेतको मनोबल उच्च हुनेछ।’

सरकारले मृतक सुरक्षाकर्मीलाई शहीद घोषणा गरे पनि आफूहरुले त्यसबापत केही नपाएको र सत्य निरुपण तथा मेलमिलाप आयोगले आफूहरुलाई ‘पीडक’ भन्ने गरेको पनि उनले बताए। 


 

प्रकाशित मिति: : 2021-02-18 17:52:00

प्रतिकृया दिनुहोस्