प्रदेश शहीदको स्मृतिमा पार्क निर्माण

कर्णाली सरकारले सुर्खेतको वीरेन्द्रनगर ४ मा प्रदेश प्राप्तिको आन्दोलनका शहीदको स्मृतिमा पार्क निर्माण गरेको छ।

वन तथा वातावरण निर्देशनालयले वीरेन्द्रनगर नगरपालिकाको प्राविधिक सहयोगमा भैरम सामुदायिक वन क्षेत्रमा पार्क निर्माण सम्पन्न गरेको हो।

छुट्टै प्रदेशको माग राखी संविधान जारी हुनुपूर्व यस क्षेत्रमा भएको आन्दोलनमा सुर्खेतका तीन र जुम्लाका एक जनाले ज्यान गुमाएका थिए।

सुर्खेत वीरेन्द्रनगरका टीकाराम गौतम, गोपालसिं रजवार, याम वीसी र जुम्लाका हरिबहादुर कुुँवरलाई प्रदेश आन्दोलनका शहीदका रूपमा कर्णाली प्रदेशले सम्झने गरेको छ। यी चार शहीदको सम्झनामा प्रदेश सरकारको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयअन्तर्गतको वन तथा वातावरण निर्देशनालयले पार्क निर्माणको योजना अघि बढाएको हो।

अभियान निर्माण सेवाले  एक करोड १३ लाख ५१ हजार लागतमा पहिलो चरणको काम सम्पन्न गरेको निर्देशनालयले जनाएको छ।

पहिलो चरणमा पार्कमा स्तम्भ, बगैँचा, पर्खाल निर्माण गरिएको छ। दोस्रो चरणमा वनस्पति उद्यानलगायत निर्माण गर्ने तयारी छ। वन निर्देशक शिवराम अधिकारीले बहुवर्षीय योजना भएकाले बाँकी संरचना थपिँदै जाने बताए।

पार्क निर्माणसँगै आन्तरिक पर्यटकको चहलपहल बढेको छ। भैरम सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष अमरबहादुर कार्कीले बिदाको दिनमा पार्क हेर्न आउनेको घुइँचो लागेको बताए। “शहीदहरुकोे सम्मानमा वन क्षेत्रभित्र पार्क निर्माण गर्न दिएका हौँ, पार्क बनेसँगै घुमफिर गर्न आउनेको सङ्ख्या धेरै छ”, उनले भने , “पार्कमा सबै संरचना नबन्दै यहाँ आएर फोटो÷सेल्फी खिच्न र टिकटक बनाउनेको थामिनसक्नु भीड छ।”

पार्क निर्माण भए पनि संरक्षण कसले गर्ने भन्ने अन्योल पनि कायमै छ। वन उपभोक्ता समितिले तत्काल पार्क हस्तान्तरण गर्न वन तथा वातावरण निर्देशनालय र वीरेन्द्रनगर नगरपालिकालाई आग्रह गरेको छ तर निर्देशनालयले भने वन समूहको कार्ययोजनामै पार्क स्वीकृति भएकाले सामुदायिक वनले सुरक्षा एवं संरक्षणको जिम्मा लिनुपर्ने बताएको छ।
 

प्रकाशित मिति: : 2021-02-21 09:24:00

प्रतिकृया दिनुहोस्