नाग्मा–गमगढी सडक स्तरोन्नतिका लागि बजेट अभाव

१० ठाउँमा आरसिसी पुल

बजेट अभावमा कर्णाली राजमार्गअन्तर्गतको नाग्मा–गमगढी सडक स्तरोन्नतिको काम प्रभावित भएको छ। सङ्घीय सरकारले सडक स्तरोन्नतिका लागि चालु आर्थिक वर्षमा रु नौ करोड ७० लाख विनियोजन गरे पनि असोजमै बजेट सकिएपछि निर्माणको काम रोकिएको हो।

बजेट सकिएपछि सङ्घीय सरकारले दोस्रो चरणमा रु पाँच करोड छुट्याएको थियो। उक्त रकम पनि सकिएपछि निर्माणको काम ठप्प भएको हो।

“लागत अनुमानअनुसार काम भएको छैन”, सडक डिभिजन कार्यालय जुम्लाका प्रमुख लीला भण्डारीले भने, “बजेट सकिएपछि ग्राभेल र ढल निकासको काम अधुरै छ।” बजेट अभावले ठेकेदारलाई  १२ करोड भुक्तानी गर्न समस्या भएको डिभिजन प्रमुख भण्डारीले बताए। सडकखण्डको ग्राभेल, ढल निकास र टेवा पर्खाल निर्माणका लागि रु २० करोड आवश्यक रहेको सडक डिभिजन कार्यालय जुम्लाले जनाएको छ।

३४ किलोमिटरमा ग्राभेल

चालु आवमा गमगढी–नाग्मा सडकको ३४ किलोमिटर सडक ग्राभेलको काम सकिएको छ। बजेट अभावले ५९ किलोमिटर ग्राभेल गर्न बाँकी रहेको प्रमुख भण्डारीले बताए।  मुगुको गमगढीबाट कालिकोटको नाग्मासम्मको सडक स्तरोन्नतिको कामको जिम्मा हिम्दुङ र थोकेर, हिरा र नमिता खड्का, कृष्ण र गाल्वा बानियाँ तथा शङ्कर निर्माण सेवाले लिएका छन्। चालु आवभित्रै सडक ग्राभेल गर्ने लक्ष्य भए पनि बजेट अभावमा समस्या भएको सडक डिभिजन कार्यालय जुम्लाले जनाएको छ।

१० ठाउँमा आरसिसी पुल

चालु आवमा सडकको १० ठाउँमा आरसिसी पुल निर्माणका लागि ठेक्का प्रक्रिया शुरु गर्न लागिएको छ। सडक डिभिजन कार्यालयका अनुसार नाग्मा–गमगढी हुँदै तिब्बतको नाक्चेनाङ्लासम्मको सडकमा पुल निर्माण गर्न लागिएको हो। यसका लागि  ८० करोड आवश्यक पर्ने डिभिजन प्रमुख भण्डारीले बताए। सडक कालोपत्र गर्न सङ्घीय सरकारसँग  तीन अर्ब बजेट माग गरिएको छ। सडकमा यातायातका साधन चल्न शुरु भएको नाग्मा–गमगढी सडक नौ वर्षपछि सरकारले स्तरोन्नतिको काम शुरु गरेको थियो। सडक स्तरोन्नतिमा ढिलाइ हुँदा स्थानीयवासी र रारा आउने पर्यटकले लामो समयदेखि सास्ती भोगिरहेको स्थानीयवासी पदम महतले बताए। रासस

प्रकाशित मिति: : 2021-02-23 10:12:00

प्रतिकृया दिनुहोस्