हाइटीको जेलबाट २०० भागे, झडपमा २५ को मृत्यु

रासस

पोर्ट ओ प्रिन्स

हाइटीमा जेलबाट शुक्रबार २०० भन्दा बढी कैदी भागेका छन्।

भाग्ने क्रममा भएको झडपमा परी कम्तीमा २५ जनाको मृत्यु पनि भएको छ। मृत्यु हुनेमा जेलका निर्देशक समेत रहेको सञ्चार सचिव फ्रन्टज एक्सान्तुजले जानकारी दिए। जेलमा झण्डै ४०० कैदी रहेका थिए। 

“घटनामा परी कम्तीमा २५ जनाको मृत्यु भएको छ। तीमध्ये छ जना कैदी नै रहेका छन् भने एक जना जेलका प्रमुख पौल हेक्टर जोसेफ रहेका छन्,” उनले भने। राजधानी पोर्ट ओ प्रिन्समा रहेको जेलमा भागाभाग हुँदा उनीहरुको मृत्यु भएको पनि उनले जानकारी दिए। मृत्यु हुनेमा केही सर्वसाधारण पनि रहेको उनले बताए।

झण्डै दुई सय जना कैदी भने अझै पनि जेलमै रहेका छन्। उनीहरुलाई भाग्न नदिन प्रहरीले धेरै मेहनत गरेको सचिव एक्सान्तुजले बताए।जेलमा राखिएका केही कैदीलाई हतकडी लगाइएको र केहीलाई बाँधिएकोले पनि उनीहरु भाग्न नसकेको उनको भनाई छ।
 

प्रकाशित मिति: : 2021-02-27 16:35:00

प्रतिकृया दिनुहोस्