‘वाइल्ड–वेस्ट’ ले तान्न थाल्यो नेपाली पर्यटकको मन 

हेमन्त विवश

काठमाडाै‌ं
फोटो : सौजन्य गोरख विष्ट
फोटो : सौजन्य गोरख विष्ट

मन तानिन्छ– कहिले कता कहिले कता। कहाँ हुन्छ र मनको ठेगान ! कहाँ सकिन्थ्यो र मनको मापन गर्न। सकिँदैन। यो मन भन्ने पनि अजीव नै लाग्छ। घरी घाम लागे जस्तो। घरी बादल मडारिएजस्तो। अनि क्षणभरमै आकाश दर्किएजस्तो। 

पल–पलमा बद्लिरहने मनलाई तान्नेहरू थुप्रै छन्। तान्छन्– कतै प्रेमी–प्रेमिकाहरूले एकअर्काको मनलाई। तानिदिन्छन्– कहिल्यै सुरिलो स्वरका धनीले। तानिदिन्छ– कहिल्यै प्रकृतिको अनुपम सौन्दर्यले। आखिर तानिनु अनि मोडिनु जीवनको एक पद्धति न हो।

जीवनका हरेक गौंँडामा भेटिन्छन् मन तान्नेहरू। चाहे ती सजीव हुन् या निर्जीव। चाहे ती भक्त हुन् या परमात्मा। जनकराज भारतीका विनयशील जुँगा नै किन नहुन्– तानेकै हुन्छन् ती सबैले मनलाई। 

एकाबिहानै पुग्छु– भारतीको बुद्धनगरस्थित ‘केक एण्ड बेक सप’ मा। जहाँ हरेक दिन प्रायःजसो भीडभाड नै हुन्छ। ग्राहकलाई ढोकामै पुगेर नमस्कार टक्र्याउँदै स्वागत गर्नु, अनि जानेबेला ढोकासम्म पुगेर बिदाइ गर्नु उनको विशेषता नै हो। टलक्क टल्किरहने उनका जुँगा झुक्न जान्दछन्। कुनै समय जुँगा पाल्नेको निकै महत्व थियो। प्रहरी प्रशासनतिर त जुँगाको मासिक भत्ता नै दिइन्थ्यो।

सिंहदरबारभित्र पनि भेटिन्छन् जुँगावालहरू। तिनका पालेका हुन् वा खौरेका ठुटा जुँगा नै किन नहुन् शान गरिरहेका हुन्छन्, रवैया देखाइरहेका हुन्छन् – सम्राटको। जुँगााँ ताउ लगाइरहेकै हुन्छन् तिनले अहंकार, दम्भ अनि शक्तिको। तर, भारतीका जुँगा ठीक विपरीत छन्। उनका जुँगाले माथि आकाशतिर फर्केर नैपालका सम्राटको झैँ गर्दैनन् आकाशलाई चुनौती दिने दुस्साहस।


भारतीका घोप्टे जुँगा धर्तीतिरै झुकेका छन्। धर्तीलाई अभिवादन गरिरहेका हुन्छन्। विनयशील बनेर धर्तीतिर निहुरिन सक्ने जुँगा स्वाभिमानका प्रतीक पनि हुन्। चाकडीमा निहुँरिनु निन्दनीय कार्य हो तर कर्मठ बनेर स्वभिमानपूर्व मैत्रीभावमा निहुँरिने कार्य प्रसंशनीय नै हुन्छ। 

भारतीजस्तै विनयशील, कर्मठ, स्वाभिमानी ऊर्जावान जुँगाधारी अर्का सज्जन हुन्– अमरबहादुर शाही पनि। यी दुवैका जुँगा प्रसंशायोग्य छन्। यी दुवैको घनिष्टता मित्रवत व्यवहार र कर्मठपन देखेर ईष्र्या पलाइरहन्छ मनमा।

पसलको कुनाको टेबलमा बिस्तारै ओठ चल्मलाइरहेका थिए दुई मन। सुहाग रातमा सामान्य झुप्रोमा होशियारीपूर्वक बात मारिरहेका नव–दम्पती जस्ता। तिनका ओठबाट सङ्केत मिलिरहेको थियो– वात मार्दै छन् भन्ने। दुवैभित्र कौतुहलता थियो। 
खप्तडका बारेमा निकै जिज्ञासु बनेका ती प्रिय मनकारी थिए राजु श्रेष्ठ र मोहनपूर्ण सत्याल। सोमबार बिहान १४ जनाको समूह जाँदैछ– खप्तडतर्फ। रित्तिन चाहन्छन् ती सबै केही समयका लागि खप्तडमा। 

एकातिर आँशु बगाएर मनका भावना पोखेर रित्याउन चाहन्छ मान्छे आफूलाई पीर, व्यथा र विरहले छाउँदा। अर्कोतिर अति हर्षित भएर प्रकृतिको सुन्दरतामा आफूलाई लुटाएर शब्दबिहीन बनिदिनु पनि एक किसिमले आफूलाई रित्याउन खोज्नु नै हो। प्रश्न कसले कुन मोडमा के कति मात्रामा आफूलाई रित्याउन सक्छ भन्ने मात्र हो। 

कोरोना कहरले विचलित बनेका मन लामो समयपछि निस्किदै छन् यात्रामा। त्यो पनि पश्चिम नेपालको एक कुनामा। त्यो त्यही कुना हो जो चिनिन्छ खप्तड बाबाका नामले। जो पढिन्छ स्कन्द पुराणलगायतका पौराणिक तथा धार्मिक ग्रन्थमा। 
धैर्य र सहनशीलताको पाठ सिकाउने अपी सैपाल मुस्कुराएका देखिन्छन् त्यहाँबाट। जहाँ नेता छैनन्। कोलाहल छैन तर सिंहदरबारले पठाएका केही सम्राटहरूले कोरिदिएका कुरूप खाल्डाहरू अवश्य छन्। अछुतो रहन दिएका छैनन् गोसाईहरूले खप्तडलाई पनि।

बेलाबखत खप्तडका छातीमा घुस्याहाहरूले खेलेका छन् परेड। खप्तड विकास बोर्डका कतिपय गोसाईहरू मोटाएका छन् खप्तडको नाम बेचेर। तिनले करोडौँका योजना कुम्ल्याए पनि प्रकृतिको सुन्दर उपहार खप्तडको महिमा उस्तै छ। गरिमा उस्तै छ। 
खप्तडको धर्ती र आकाशका बीच चलेकै छ सम्वाद। त्यही सम्वाद सुनेर झुमेजस्ता हल्लिएकै छन् लता–वृक्षहरू। गाएकै छन् चराचुरुङ्ीहरूले गीत। रमणीय पाटनबाट देखिएकै चाँदी टल्किरहने सेताम्मे हिमश्रृङ्खलाहरू।

त्यही दृश्य हेर्न टेण्टमुनि रात बिताउने योजना बनाएर यात्रा गर्न कस्सिएका छन् काठमाडौंमा बसिरहेका केही मनहरू। राजु श्रेष्ठ, जनकराज भारती, मोहनपूर्ण सत्याल, सुमन पोख्रेल, कृष्णप्रसाद तिमिल्सिना, दीपक अर्याल, जगन्नाथ गिरी, नारायण ज्यालो, सम्पूर्ण श्रेष्ठ, फोटो पत्रकार भरतवन्धु थापा लगायतका यात्रुहरू हौसिएका छन्– छदिने यात्राका लागि।

 मध्य तथा सुदूरपश्चिमको पर्यटन प्रवद्र्धनमा विगत लामो समयदेखि एकोहोरो लागिपरेका पर्यटन क्षेत्रका हस्ती अमरबहादुर शाही डोटी पुगिसकेका छन्– व्यवस्थापनका लागि। काठमाडौंमा टोलीनेताको जिम्मेवारी बोकेका छन्– जनकराज भारतीले। 
दुईदिन दुईरात खप्तडमा बिताउन तम्सेका सबै जना डोटी शैलेश्वरी, भागेश्वर, सालमुनि लगायत केही मन्दिरको दर्शन गरेर धनगढी हुँदै महेन्द्रनगर पुग्ने छन्। जहाँ दोधारा चाँदनी पुल र वेद सङ्ग्रहालय अवलोकन गर्ने छन्।

 कञ्चनपुरस्थित शुक्लाफाँटा राष्ट्रिय निकुञ्जभित्र जीप सफारी गर्नेछन्। जहाँ देख्न सकिन्छ बाघ, भालु, गैँडा, गोही, चितुवा, बँदेल र बाह्रसिंगेको बथान। मनमा जब प्राकृतिक सौन्दर्यता वा अन्य कुनै रहस्यभावको कौतुहलता जाग्न थाल्छ, तब सुरु हुन्छ यात्रा। 
खप्तडमा आफूलाई रित्याउन चाहने, त्यही रमणीयतामा हराउन चाहने मनहरू काठमाडौं फर्कदा मनभरि भावना र सम्झनाका लहर बोकेर आपूmलाई भर्दै आउने छन्। अनि पुनः पोखिन खोज्ने छन् अक्षरमार्फत्।

 क्षणमै भरिने र क्षणमै पोखिने मायाप्रेम, सम्झना, कल्पनाका साथै भावनारुपी गाग्री न हो जिन्दगी। जो कतै अडेस लगाउँछ। कतै छल्किन्छ। कतै पोखिन्छ। शारीरिक यात्रा होस् वा मानसिक, आखिर जे सुकै भए पनि धर्तीमा अवतरण गरेको दिनदेखि नै निरन्तर चलिरहेकै छ।

कहिलेसम्म कुर्नु पर्ने हो –बाह्य पर्यटकको बाटो थाहा छैन। लामो समयसम्म थला परेको पर्यटनका लागि ‘वेल्ड–वेस्ट ९ध्ष्मि ध्भकत०’ का चर्चित पर्यटकीय स्थानहरु– रारा, खप्तड, शुक्लाफाँटा र बर्दिया राष्ट्रिय निकुञ्जमा आन्तरिक पर्यटकका माध्यमबाट पर्यटन प्रवद्र्धनका लागि ल्याइएको ‘टुर प्याकेज’ सुलभ, सस्तो र स्तरीय सेवा उपलब्ध रहेको प्रवद्र्धकले जनाएका छन्। उक्त टुरको व्यवस्थापन बुद्ध एयर, बुद्ध होलिडेज र रंैका टुर्स एण्ड ट्रेक्सले गरेका हुन्। 

‘वेल्ड–वेस्टका चर्चित पर्यटकीय स्थानहरुको भ्रमण गराउने हेतुले थलिएको प्रारम्भिक यात्रा हो– खप्तड–शुक्लाफाँटा टुर। यादगार बनोस् सबै सहयात्रीहरूका लागि। पठनीय बनुन् तिनका अनुभूति र अनुभव मिसिएका शब्दहरू। शुभयात्रा सम्पूर्ण प्रिय मनहरूलाई।

प्रकाशित मिति: : 2021-03-01 07:26:00

प्रतिकृया दिनुहोस्