धनञ्जयको ह्याट्रिक खेर गयो, पोलार्डको ६ छक्कामा वेष्ट इन्डिज विजयी

Photo - AFP
Photo - AFP

श्रीलंकाका अफ स्पिनर अकिला धनञ्जयले ह्याट्रिक लिए पनि वेष्ट इन्डिज टि–२० श्रृंखलामा ४ विकेटले विजयी भएको छ।

धनञ्जयले दोस्रो ओभरमा ह्याट्रिक गरेका थिए। तर, तेस्रो ओभरमा कप्तान किरोन पोलार्डले लगातार ६ छक्का प्रहार गर्दै खेल उल्ट्याएका थिए।

उनी युवराज सिंहपछि टि–२० मा एक ओभरमा ६ छक्का लगाउने दोस्रो ब्याट्सम्यान बनेका छन्।

बिहीबार टस जितेर वेष्ट इन्डिजले बलिङ गरेको थियो। श्रीलंकाले २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ३१ रन बनायो।

प्रत्युत्तरमा १३ दशमलव १ ओभरमा ६ विकेट गुमाएर १ सय ३४ रन बनायो। ११ बलमा ३८ रन बनाएका पोलार्ड ‘म्यान अफ दि म्याच’ भए।

धनञ्जयले आफ्नो दोस्रो तथा टिमको चौथो ओभरअन्तर्गत दोस्रो, तेस्रो र चौथो बलमा ह्याट्रिक बनाए।

उनले इभिन लुइस (२८), क्रिस गेल र निकोलस पुरनलाई पवेलियन पठाएका थिए। गेल र पुरन शुन्यमा आउट भए।

कप्तान पोलार्डले भने धनञ्जयको तेस्रो तथा इनिङको छैटौं ओभरमा ६ छक्का प्रहार गरेका थिए।

अन्तर्राष्ट्रिय क्रिकेटमा ६ बलमा ६ छक्का प्रहार भएको तेस्रो अवसर हो। सन् २००७ को विश्व कपमा दक्षिण अफ्रिकाको हर्सल गिब्सले ६ छक्का प्रहार गरेका थिए।

यही वर्ष टि–२० को विश्व कपमा भारतका युवराज सिंहले यो उपलब्ध हात पारेका थिए।

प्रकाशित मिति: : 2021-03-04 16:31:00

प्रतिकृया दिनुहोस्