गरिखान छेकेन अपाङ्गताले 

तेजन खड्का

उर्लाबारी

सामान्य अपाङ्गता भएका मानिसहरू पनि राज्यसँग रातो कार्ड लिएर भत्ता लिने गर्छन्। तर, दक्षिणपूर्वी मोरङको रतुवामाई –४ कटघराका ६९ वर्षीय बादल गिरीको दुई वटै खुट्टा नभएपनि रातो कार्ड छैन।

गिरी आफ्नै श्रम बेचेर घरखर्च चलाइरहेका छन्। उनको पेशा हो, तरकारी ब्यापार। ४५ वर्षयता उनी तरकारी ब्यापार गरिरहेका छन्।

२५ वर्ष अघि २०५१ सालमा दुबै खुट्टामा खटिरा निस्क्यो। त्यही खटिरा बढ्दै बढ्दै जाँदा उनले दुबै खुट्टा गुमाउनु प-यो। झण्डै ३ वर्ष उपचार गर्दा उनको ४ लाख बढी खर्च भयो।

मधुमेहका रोगी बादल भन्छन्, ‘कसैले सहयोग गरेन। ऋणपान गरेर नै उपचार खर्च तिरें।’ तर, उनको दुख यतिमै पूर्ण बिराम लागेन। साथ सहयोग दिने एकमात्र लक्काजवान छोरो पनि उनले गुमाउनु प-यो। उनले भने, ‘रोग पत्ता नलाग्दै छोरो बित्यो।’

अहिले उनी रोगी श्रीमतीसँग बस्दै आएका छन्। श्रीमतीको उपचार खर्च, आफ्नो औषधि खर्च मात्र होइन। दाल भात तरकारीको जोहो पनि ब्यापारबाटै गर्छन्, बादल गिरी। उनीसँग जग्गाको नाममा घामपानी छल्ने सानो टहरो भएको १५ धुर जति जमिन छ।

पहिले साइकलमा तरकारी ओसार पसार गर्ने गिरी अचेल ह्विल चेयर प्रयोग गर्छन्। एउटा गैर सरकारी संस्थाले ह्विल चियर दिएपछि उनी २०५४ सालमा पुनः ब्यापारमा फर्किए।

‘दुई वटै खुट्टा गुमेपछि महिला विकास कार्यलय विराटनगरले नीलो कार्ड दियो’, उनले भने, ‘नीलो कार्डले भत्ता पाउँदैन भन्ने बुझेपछि उतै फालिदिएर आएँ।’

गिरीको दैनिक ब्यापार ४/५ हजारसम्म हुन्छ। मौसम अनुसारका तरकारीहरूको ब्यापार गर्ने गिरी दैनिक ४/५ सय रुपैयाँ नाफा हुने बताउँछन्।

दक्षिणाी मोरङका आमबारी, शनिश्चरे, डाइनियाँलगायतका बजारमा उनी तरकारीको ब्यापार गर्छन्। बजार नभएको दिन आमबारी बजारको गुद्रीमा तरकारी फिंजाउँछन्।

भारतीय सीमावर्ती नेपाली गाउँ कटघरामा बस्दै आएका गिरी भारतमा आलु, प्याज, लसुन सस्तो भएको बेला उतैबाट ल्याएर बिक्री गर्छन्।

ह्विलचियरमा जाने आउने गरेकोले उनलाई न भारतीय प्रहरीले दुख दिन्छ, न नेपाली प्रहरीले। गिरीले भन्सारमा आफूलाई छुट दिएपनि आफ्नो घर चलाउन बाहेक अरु केही बस्तु नेपाल नभित्राएको बताउँछन्।

त्यसो त उनले रोतो कार्डका लागि धेरै जना नेता लगाए। तर केहि पार नलागेको उनी बताउँछन्। उनले एउटा खुट्टा गुमाएका, सामान्य दृष्टिबिहीन र एउटा हात गुमाएकासँग रातो कार्ड भएको प्रमाण जुटाउँदा पनि भत्ता आउने रातो कार्ड नपाएको बताए।

प्रकाशित मिति: : 2021-03-29 12:52:00

प्रतिकृया दिनुहोस्