दीपक, मन्डे र आर्यन सम्मानित

करातेका दीपक श्रेष्ठ, मन्डेकाजी श्रेष्ठ र आर्यन रन्जित शनिबार सम्मानित भएका छन्।

चौथो जुनियर खुला कराते तथा किक बक्सिङ प्रतियोगिताको समापनका अवसरमा आयोजक नेपाल सितोरियो कराते संघ, छाउनी शाखा डोजोले उनीहरुलाई सम्मान गरेको हो।

काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य र आयोजक छाउनी डोजोका अध्यक्ष महेश रन्जितले उनीहरुलाई एक कार्यक्रमबीच सम्मान गरे।

मन्डे र आर्यनलाई प्रशंसा पत्रसहित माउन्टेन बाइक प्रदान गरियो। दीपक प्रशंसा पत्रबाट सम्मानित भए।

दीपक आठौं र नवौं दक्षिण एसियाली खेलकुद (साग) का स्वर्ण विजेता हुन्। मन्डेले १३ औं सागमा दोहोरो स्वर्ण जितेका थिए।

सागको एकै संस्करणमा दोहोरो स्वर्ण जित्ने मन्डे एक्लो नेपाली कराते खेलाडी हुन्। जुनियर खेलाडी आर्यन विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगिताका पदक विजेता हुन्।

सोही अवसरमा करातेकर्मी साइला गमाल, बसन्तराज वाइबा र सिर्जना अधिकारी, सांसद विमल केडिया तथा समाजसेवी सुचित्रा श्रेष्ठ पनि सम्मानित भए।

केन्द्रीय डोजो दबदबा :
चौथो जुनियर खुला कराते तथा किक बक्सिङ प्रतियोगितामा केन्द्रीय डोजोको दबदबा रह्यो। टिम च्याम्पियनको उपाधि जितेको केन्द्रीय डोजोले उत्कृष्ट पुरुष/महिला र प्रशिक्षकको उपाधिमाथि पनि कब्जा जमायो।

प्रतियोगितामा १० स्वर्ण, ४ रजत र ५ कांस्यसाथ केन्द्रीय डोजो टिम च्याम्पियन बन्यो। ४ स्वर्ण, १ रजत र १ कांस्यसाथ इचङगु नारायण डोजो दोश्रो तथा ३ स्वर्ण, ३ रजत र ५ कांस्यसाथ नरहरिपुर डोजो तेश्रो भए।

शीर्ष तीन स्थान हात पार्ने टिमले क्रमशः २० हजार, १० हजार र ५ हजार नगद पुरस्कार पाए।

पुरुषमा एओन गहतराज तथा महिलामा रोजिता ढुंगेल उत्कृष्ट खेलाडी घोषित भए। दुवै केन्द्रीय डोजोका खेलाडी हुन्। केन्द्रीय डोजोकै साइला गमाल उत्कृष्ट प्रशिक्षक चुनिए।

उत्कृष्टत्रयले पुरस्कार स्वरुप माउन्टेन बाइक पाए। सञ्जय रन्जित उत्कृष्ट निर्णायक ठहरिए। उनले ५ हजार नगद पुरस्कार हात पारे।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भएको दुईदिने प्रतियोगितामा २ सय ५० खेलाडीले विभिन्न २२ स्पर्धामा प्रतिस्पर्धा गरेका  थिए।

प्रकाशित मिति: : 2021-03-29 14:05:00

प्रतिकृया दिनुहोस्