नयाँ सरकार बन्यो भने जसपा र एमाले एक रहलान्?

‘कांग्रेसमा अहिले बिँड मात्रै तातेको हो, ताप्के होइन’

सेतोपाटी

काठमाडौं

नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग्दै आफ्नै नेतृत्वमा सरकार बनाउन पहल गर्ने निर्णय गरेपछि राजनीतिक सरगर्मी बढेको छ।

सत्ता समीकरणको खेल यसपालि निर्णायक मोडमा पुग्छ कि पुग्दैन अझै टुंगो छैन। कांग्रेस सभापति शेरबहादुर देउवाले आफ्नो नेतृत्वमा सरकार बनाउन साँच्चै पहल गर्छन् कि गर्दैनन् भन्नेमा आगामी राजनीति धेरै निर्भर रहन्छ।

कांग्रेसले शनिबार निर्णय गरिसके पनि देउवाले सरकार बनाउने पहल गरेका छैनन्। बरू देउवाको सट्टा रामचन्द्र पौडेल तातेका छन्। सरकार बनाउन पहल गर्ने निर्णय गराउन पनि पौडेलले नै मुख्य भूमिका खेलेका थिए। आइतबार जसपाका नेता महन्थ ठाकुरलाई मनाउन पनि पौडेल नै उनको निवास पुगेका थिए।

कांग्रेसकै एक नेताले यसलाई 'ताप्के नताती बिँड तातेको' भनेर टिप्पणी गरे।

'देउवालाई अझै पनि जसपाले एक भएर आफूलाई भोट दिन्छ भन्ने विश्वास छैन,' उनले भने, 'त्यसैले उनी प्रधानमन्त्रीभन्दा कांग्रेसको आउने महाधिवेशनमा केन्द्रित हुन चाहन्छन्।'

भारतले अहिले पनि ओलीलाई नै सत्तामा टिकाउन चाहेको र त्यहीअनुसार खेल भइरहेको उनले टिप्पणी गरे। 'त्यसैले अहिले नै सरकार बनाउन देउवाले धेरै प्रयास गर्ने सम्भावना म कम देख्छु,' उनले भने। 

प्रकाशित मिति: : 2021-04-04 22:26:00

प्रतिकृया दिनुहोस्