भारतको प्रतिष्ठित क्रिकेट प्रतियोगिता इन्डियन प्रिमियर लिग (आइपीएल) को १४ औं सिजनको खेल शुक्रबारदेखि सुरु हुँदैछ।
पहिलो खेल मुम्बई इन्डियन्स र रोयल च्यालेन्जर्स बेङ्लुरुले नेपाली समयअनुसार साँझ पौने आठ बजे चेन्नईमा खेल्दैछन्।
दुबै टोलीले पहिलो पल्ट सिजनको पहिलो खेल खेल्न लागेका हुन्। मुम्बईको कप्तानी रोहित शर्मा तथा बेङ्लुरुको कप्तानी विराट कोहलीले गर्दैछन्।
बेङ्लुरुले यसअघि तीन पल्ट सिजनको पहिलो खेल खेले पनि सबै पल्ट हार बेहोर्नुपरेको छ। उसले २००९, २०११ र २०१६ मा फाइनल खेलेको थियो तर उपाधि जित्न सकेन। गत सिजनमा टिम एलिमिनेटर भएको थियो। कोहलीले १५ खेलमा ४ सय ६६ रन बनाएका थिए। तर, टिमलाई जिताउन सकेनन्।
यस्तै, मुम्बईले पनि १३ वटा पहिलो खेलमा ४ पल्ट मात्र जित हात पारेको छ। २०१३ यता टिमले पहिलो खेल जित्न सकेको छैन। तर पहिलो खेल हारेपनि उपाधि भने जितेको छ। २०१३ मा टिमले पहिलो उपाधि जितेको थियो। रोहितको कप्तानीमा मुम्बई ५ पल्ट उपाधि विजेता बनेको छ।
रोहित हाल उपाधिमा ह्याट्रिक गर्ने अभियानमा छन्। पछिल्लो दुईवटा उपाधि उसले जितिसकेको छ। गत सिजन दिल्ली क्यापिट्ल्सलाई फाइनलमा पराजित गरेको थियो।
आइपीएलमा मुम्बईले बढी खेल जितेको छ। दुबै टोलीबीच कूल २७ खेल भएका छन्। जसमा मुम्बईले १७ र बेङ्लुरुले १० पल्ट उपाधि जितेका छन्। गत सिजन भएको दुई खेलमा दुबैले १–१ खेल जितेका थिए।