भरिन थाले राजधानीका कोभिड अस्पताल, कुन अस्पतालको क्षमता कति ?

अनलाइनखबर

काठमाडौँ

नुनुता राई

कोभिड–१९ संक्रमितको उपचार गर्ने उपत्यकाका अधिकांश सरकारी अस्पतालको बेड भरिएका छन् । बेड नभएपछि धेरै अस्पतालले भर्ना लिन मानेका छैनन्, अस्पताल पुगेका बिरामी फर्किन बाध्य भएका छन् ।

अस्पतालहरुले जटिल अवस्थामा पुगेका अथवा अक्सिजन दिनुपर्ने अवस्थाका बिरामीलाई प्राथमिकता दिई भर्ना लिने गरेका छन् । कुनै पनि बिरामीले अगाडि नै फोन गरेर बेड बुक गर्ने अवस्था नरहेको डाक्टरहरुको भनाइ छ ।

त्रि.वि शिक्षण अस्पताल, महाराजगञ्जमा संक्रमितको उपचार गर्न जम्मा ११३ बेड रहेको कोभिड सम्पर्क व्यक्ति डा. सन्तकुमार दासले बताए । अस्पतालमा अहिले १०९ जना संक्रमित उपचार गराइरहेका छन् । जसमध्ये २१ जना आईसीयूमा, ५ जना भेन्टिलेटरमा उपचाररत र बाँकी सामान्य वार्डमा उपचार गराइरहेका छन् । यहाँ भेन्टिलेटर बेड क्षमता ११ वटा मात्र छ ।

अस्पताल आएका बिरामीलाई सम्भव भएसम्म नफर्काउने र सम्भव नभएमा अन्य कोभिड अस्पतालमा पठाउने गरेको उनी बताउँछन् । तर कतिपय संक्रमितले सरकारीमा बेड नपाएपछि निजी अस्पतालमा लगेका छन् । डा. दासले भने ‘हामीले हाम्रो क्षमताले भ्याएसम्म बिरामीको भर्ना लिने, उपचार गर्ने कोसिस गर्छौं । तर क्षमताले नै नधानेपछि फर्काउनुको विकल्प छैन ।’

सशस्त्र प्रहरी बल अस्पताल, बलम्बुमा संक्रमितको उपचारका लागि १४० बेड छ । तर जटिल खालका संक्रमित आएपछि क्षमता भन्दा १८ जना बढी भर्ना लिएको अस्पतालका कोभिड सम्पर्क व्यक्ति डा. प्रवीण नेपालले बताए । बिरामीको अवस्थाका कारण फर्काउन नसकेकाले भर्ना लिइएको उनले बताए ।

प्रकाशित मिति: : 2021-04-30 21:17:00

प्रतिकृया दिनुहोस्