कोरोनाको दोस्रो लहरपछि फेरि देश ठप्प, पर्यटकीय हब ठमेल सुनसान (तस्वीरहरू)

कोरोना भाइरसको दोस्रो लहर (भेरिएन्ट) को संक्रमण तीव्र गतिमा बढ्दै गएपछि सरकारले काठमाडौं उपत्यकामा १५ दिन (वैशाख १६-३१ गते) का लागि निषेधाज्ञा जारी गरेको आज तेस्रो दिन हो।

गत साल विश्वभर कोरोना भाइरस संक्रमण फैलिएसँगै नेपाल सरकारले पनि रोकथाम तथा नियन्त्रणको लागि भन्दै देशैभरी ०७६ चैत ११ देखि 'लकडाउन' घोषणा गरेको थियो। झण्डै आठ महिना लामो 'लकडाउन' र निषेधाज्ञाले नेपालका सबै आर्थिक गतिविधि ठप्प भएको थियो।

सरकारले सन् २०२० लाई 'नेपाल भ्रमण वर्ष' को रुपमा घोषणा गरेपछि पर्यटन व्यवसायी निकै उत्साहित थिए। तर पर्यटक आगमनको पिक सिजनको मुखमा कोरोना भाइरसको महामारीले संसारलाई लपेट्यो। पर्यटन क्षेत्र ठप्पै भयो।

पोहोर साल टुरिष्टको मुख्य स्प्रिङ सिजन मार्च २०२० तिर लगाएको लकडाउनले पर्यटन क्षेत्र नराम्ररी प्रभावित बन्र पुगेकाे थियाे। सुरुमा एक साताका लागि घोषणा गरेको 'लकडाउन' महामारी बढ्दै गएसँगै साता दिन हुँदै महिनौँसम्म लम्बिँदै गयो। लकडाउन लम्बिने देखिएपछि धेरै पर्यटन व्यवसायीले अर्को अउटम्न सिजनका लागि 'बुकिङ' सार्न बाध्य भए।

लकडाउन लम्बिदै गयो।  'स्प्रिङ सिजन' (मार्च, अप्रिल, मे) लकडाउनमै बित्यो। 'अउटम्न सिजन' (सेप्टेम्बर, अक्टुवर, नोभेम्बर) पनि प्रभावित भयो।

हजारौँ पर्यटन व्यवसायीको व्यापार चौपट भयो, भयो। काठमाडौँको ठमेललगायत पोखराका ट्रेकिङ र टूर कम्पनी लगाए होटल, रेस्टुरेन्ट, र पसलहरुसमेत बन्द भए। हजारौँ पर्यटन मजदुरहरु कामबिहीन बने। 

गत साल पर्यटन क्षेत्रको व्यपार लगभग शुन्य भयो। महामारीको कारण आठ महिना लामो लकडाउन र निषेधाज्ञाको सास्तीपछि गत दशैँ तिहारपछि कोरोना घट्यो। सरकारले पनि बिस्तारै 'लकडाउन' हटायो। प्रतिबन्धहरु विस्तारै खकुलो हुदै गएको कारण पर्यटन व्यवसायीहरू उत्साहित हुँदै आफ्ना कार्यालय खोलेर अगामी 'स्प्रिङ सिजन' को बुकिङको तयारीमा जुट्दै थिए।

लकडाउन खुलेपछि पर्यटन क्षेत्रमा आशाको किरण छाएको एभरग्रीन टुरका प्रवन्ध निर्देशक चित्र वहादुर गुरुङले वताए। लुम्लेमा कल्सी-इको लजका सञ्चालकसमेत रहेका उनले प्रतिबन्ध खकुलोपछि लजमा आन्तरिक पर्यटकहरु निरन्तर भ्रमण गरेकाे बताए।

कोरोनाको दोस्रो 'भेरिएन्ट' देखा परेसँगै सरकारले चालेको कदमको स्वागत गरे पनि ठाउँ–परिस्थिति हेरेर व्यवस्थापन गरी खकुलो बनाउनुपर्ने पर्यटन व्यवसायीको सुझाव छ।

कोरोनाको दोस्रो लहरसँगै सरकारले निषेधाज्ञा घोषणा गरेको छ। १५ दिने निषेधाज्ञाले पर्यटन क्षेत्र फेरि पनि चपेटामा पर्नसक्ने खतरा बढेको छ।

अर्का पर्यटन व्यवसायी ए–वान एक्स्कर्सन एड्भेञ्चर टुर एण्ड ट्राभलका प्रबन्ध–निर्देशक राजकुमार थापाले भने, 'अबको पर्यटन क्षेत्र फेरि अन्योलमा परेको छ। यस्तै अवस्था रहे हामी व्यवसायी पर्यटन क्षेत्रबाट पलायन हुन बाध्य हुनेछौँ।'

व्यवसायीहरुलाई बैंकको ऋण, घरभाडा, सरकारको करको चिन्ता बढेको छ। रसुवा ट्रेक्सका निर्देशक गगनराज न्यौपानेले भने, 'एक सालको मार त खेप्यौँ, अब के हुने हो, कसरी धान्ने हो?', न्यौपानेले भने, 'बैंकको ऋण लिएर व्यवसाय गरेका हामी। न ब्याजमा छुट छ न घर भाडामा छुट हुन्छ। महिना बित्नासाथ बैंकले ताकेता गर्छन्, सरकारको पनि कुनै कर छुट छैन। 'ट्रिप' हरु धमाधाम रद्द भएको छ। खै कसरी थेग्ने हो !?'

त्यस्तै हिमालयन गियर ट्रेडिङका सञ्चालक श्यामबाबु कुँवरकाे आफ्नो ट्रेकिङ पसल वन्द छ।  बीचमा फाट्ट-फुट्ट नेपाली पर्यटक ट्रेकिङका समान किन्न आएका थिए। पसल वन्द गरेर घर बसेका उनले भने, 'हाम्रो मुख्य ग्राहक विदेशी पर्यटक नै हो तर स्वदेशी पर्यटक आएकाले थोरै भए पनि चहलपहल थियो,' कुँवरले भने, 'अब त त्यो पनि बन्द भयो। खै अब कसरी चलाउने हो व्यवासाय।' ठमेलको महङ्गो भाडा, बैंक ऋणको व्याज र आफ्नो अवस्था सम्झँदा उनी चिन्तित हुन्छन्।

अर्का व्यवसायी नेपाल क्लाइम्विङ एडभेञ्चरका प्रबन्ध निर्देशकको कृष्णबहादुर सुवेदीको पनि पीडाउस्तै छ। 'गत साल लकडाउनमै बित्यो, यो वर्ष केही होला भन्ने आशा थियो। अब दोस्रो लहरको कोराेनाले फेरि अन्योल श्रृजना गर्ने भयो। फेरि चिन्ता बढेको छ।', उनले भने। 

क्लाइम्बर्स हब रेस्टुरेन्टका सञ्चालक कृष्ण ढकाल पनि रेस्टुरेन्ट बन्द गर्न परेकोले चिन्तामा छन। 'भर्खर अलिअलि व्यापार हुँदै थियो, बन्द गर्न पर्यो्, घरभाडा, कर्माचारीको तलब कसरी दिने होला,' उनले भने।

दशैँ तिहारपछि प्रतिबन्ध खकुलो पारेसँगै पर्यटन व्यवासायीमाझ झिनो आशामा बादल छाएको छ। दोस्रो चरणको कोरोना भेरिएन्टको संक्रमण तिब्र भएसंगै यसको नियन्त्रण र सुरक्षाको लागि सरकारले वैशाख १६ देखि १५ दिनको लागि लगाएको निषेधाज्ञाले तुसारोपात लागेको छ। लिफ हाेलीडे ट्राभल तथा एक्टाेनका सचिव गाेपाल थापाले पनि निषेधाज्ञाले पर्यटन क्षेत्र अन्याैल बनाएकाे बताए। कैलाश क्याफेका सञ्चालक समेत रहेका उनले काेराेनाकाे महामारी लम्बिए पर्यटन व्यवसायबाट हात धुने अवस्था श्रृजना हुने चिन्ता ब्यक्त गरेका छन्।

देशको मुख्य पर्यटकिय हव ठमेल फेरी सुनसान बनेको छ। यहाँका ट्रेकिङ कम्पनी, ट्राभल एजेन्सिज, रेस्टुरेन्ट, पव , वुकशप, ट्रेकिङ शप, होटल लगायत सम्पुर्ण गतिविधि बन्द छ। ठमेलका सडकमा फाट्ट-फुट्ट पर्यटक, रिक्सा, सुरक्षाकर्मी र केही बटुवाहरु मात्रै देखियो।

निषेधाज्ञाको तेस्रो दिन ठमेलका मुख्य चोक र भित्र जस्तै केशरमहल, सोह्रखुट्टे, लैनचौर, पकनाजोल, क्षेत्रपाटी, ठहिँटी, भगवतिवहाल, भगवान वहाल , ज्याठा, नरसिंचोक, चाक्सिवारी, सातघुम्ती लगायत ठाउँहरु सुनसान थिए।

प्रकाशित मिति: : 2021-05-01 18:10:00

प्रतिकृया दिनुहोस्