नेपाल सुपर लिगः विराटनगर एफसी शीर्षस्थानमा

नेपाल सुपर लिगअन्तर्गत सोमबार सम्पन्न खेलमा जीत हासिल गर्दै विराटनगर सिटी एफसी लिगको शीर्षस्थानमा उक्लेको छ। विराटनगरले  चितवन एफसीलाई दुई शून्य गोलले पराजित गरेको हो।

दशरथ रङ्गशालामा विराटनगरले पहिलो हाफमा निकै आक्रामक खेल खेलेको थियो। यद्यपि मध्यान्तरअघिको खेलमा उसले गोल गर्न भने सकेन।

खेलको २३औँ मिनेटमा विराटनगरका सुनिल बलको प्रहार गोलपोष्टमाथिबाट बाहिरियो। खेलको ३६औँ मिनेटमा विदेशी खेलाडी एडेलाजाले पाएको मौकाको सदुपयोग गर्नु सकेनन्।

यसैगरी पहिलो हाफको अन्तिम समयमा विराटनगरका नीरकुमार राईको प्रयास पनि खेर गयो। मध्यान्तरपछिको खेलको ५८औँ मिनेटमा विराटनगरका सन्तोष तामाङले गरेको प्रहार चितवनका गोलकिपर विशाल सुनारले रोके।

विराटनगरका लागि खेलको ७३औँ मिनेटमा विदेशी खेलाडी पेद्रो मान्जीले गोल गर्दै आफ्नो टोलीलाई अग्रता दिलाए। खेलको ८९औँ मिनेटमा विराटनगरका लागि सन्तोष तामाङले दोस्रो गोल गरे।

जितसँगै विराटनगर चार खेलमा सात अङ्क जोड्दै शीर्षस्थानमा प्रवेश गरेको छ। चितवनको चार खेलमा दुई अङ्क छ। चितवन लिगको पुछारमा छ। 

प्रकाशित मिति: : 2021-05-04 09:18:00

प्रतिकृया दिनुहोस्