मुख्यमन्त्री पाेखरेलले थपे तीन मन्त्री, असन्तुष्ट श्रीवास्तव पनि मन्त्री

लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले मन्त्रिपरिषद् विस्तार गरेका छन्।

उनले प्रदेशसभा सदस्यहरू चेतनारायण आचार्यलाई आन्तरिक मामिला तथा कानून मन्त्री, भोजप्रसाद श्रेष्ठलाई स्वास्थ्य तथा जनसंंख्या मन्त्री  र धर्मलाल श्रीवास्तवलाई शिक्षा तथा सामाजिक विकास मन्त्रीमा नियुक्त गरेका हुन्। 

आचार्य अर्घाखाँचीबाट निर्वाचित प्रदेश सभा सदस्य हुन् भने श्रेष्ठ रुपन्देहीबाट निर्वाचित प्रदेश सभा सदस्य हुन्। श्रेष्ठ बुटवलका पूर्व मेयरसमेत हुन्।

कपिलवस्तु क्षेत्र नम्बर २ (ख) बाट निर्वाचित श्रीवास्तव ब्रिजेशकुमार गुप्तानिकट मानिन्छन्।

उनले आइतबार मुख्यमन्त्री पाेखरेलसँग असन्तुष्टि जनाउँदै अलगिने घाेषणा गरे पनि साेमबार एक विज्ञप्ति जारी गर्दै पुन: पाेखरेललाई नै समर्थन रहेकाे जनाएका थिए। 

नव नियुक्त मन्त्रीहरुले भाेली (बुधबार) पद तथा गाेपनियताकाे सपथ लिने कार्यक्रम रहेकाे नेकपा एमाले लुम्बिनी प्रदेश सभा संसदीय दलका प्रमुख सचेतक भूमिश्वर ढकालले बिएल नेपाली सेवालाई जानकारी दिए।

हिजाे (सोमबार) मात्रै शिक्षा तथा सामाजिक विकास मन्त्री बनेकी कल्पना पाण्डेलाई उद्योग, वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी दिइएकाे छ। 



एमालेमै फर्किए लुम्बिनीका दुई सांसद, मुख्यमन्त्रीलाई नै समर्थन

लुम्बिनीका मुख्यमन्त्री शंकर पोखरेललाई असन्तुष्टि जनाउँदै अलगिएका दुई सांसद पुनः मुख्यमन्त्रीकै पक्षमा देखिएका छन्।

कपिलवस्तु क्षेत्र नम्बर २ (ख) बाट निर्वाचित धर्मबहादुरलाल श्रीवास्तव र नवलपरासी पश्चिमका अजय शाहीले आइतबार प्रदेशका मुख्यमन्त्री पोखरेलको पुनःनियुक्तिमा असन्तुष्टि जनाउँदै अलगिएका थिए। तर दुवै सांसदले फेरी संयुक्त विज्ञप्ति जारी गर्दै मुख्यमन्त्री पोखरेललाई नै समर्थन दिने बताएका थिए।

सूर्य चिन्हबाट चुनाव जितेका उनीहरुले एमाले संसदीय दलमै प्रतिबद्ध रहने बताएका हुन्।



मुख्यमन्त्री पोखरेलले गरे मन्त्रिपरिषद् विस्तार

सांसदबाट पदमुक्त भएका कल्पना पाण्डे लम्साल र सुमन शर्मा रायमाझी मन्त्रीमा नियुक्ति भएका छन्।

उनीहरुलाई प्रदेश प्रमुख धर्मनाथ यादवले पद तथा गोपनीयताको शपथ खुवाएका छन्। 

प्रकाशित मिति: : 2021-05-04 20:30:00

प्रतिकृया दिनुहोस्