पातारासी गाउँपालिकाका अध्यक्ष लक्षिमा बाेहाेराले उपाध्यक्ष पुन्नकली महतारामाथि दुर्व्यवहार भएकाे समाचार प्रकाशित भएपछि आफूले दुर्व्यवहार नगरेकाे प्रष्टिकरण दिएका छन्।
उपाध्यक्ष पुन्नकली बाेहाेराले काेराेनाकाे पहिलाे चरणकाे बेला राहत स्वरुप वितरण गरिएकाे हरहिसाब मागेकाे बेला अहिले कोभिडको बेला भएकाले फरक प्रसंगको कुरा नगर्नु भनेको बताएका छन्।
'पहिलो लहरको कोरोना संक्रमण बेला नागरिकलाई वितरण गर्न ल्याएको राहतको चामल र नुन हिनामिना भएकाे छैन,' उनले भने, 'चन्दननाथ बहुउद्देश्यीय सहकारीसँग हिसाब मात्र नभएकाे हाे।'
बिएल नेपाली सेवामा समाचार प्रकाशन पछि चन्दननाथ बहुउद्देश्यीय सहकारी संस्था, जनप्रतिनिधि र पत्रकारको उपस्थितिमा गरिएको छलफलमा राहतको चामल हिनामिना नभएको बताएका हुन्।
उपाध्यक्ष महताराले भने लामो समयसम्म राहतकाे चामल र नुनको हिसाबकिताब किन नभएको हो र सहकारीले किन हिसाब नबुझाएको भन्दा बैठकमै टेबुल ठोकेर दुर्व्यवहार गरिएको बताइन्। उनले भनिन्, 'पटक पटक कुरा उठाउँदा समेत सुनुवाई भएन। उल्टाे बेबकुफ कुरा गर्ने भनियो।'
पातारासी गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत टेकबहादुर बुढाले अघिल्लो वर्षको कोरोना संक्रमणको बेला नागरिकलाई राहतका लागि खाद्य संस्था र साल्ट टेड्रिङ सरकारी कार्यालयबाटै चामल र नुन खरिद गरिएको बताएका छन्।
'पहिलो चरणमा सबै नागरिकलाई राहत वितरण गरिएको हो। दोस्रो चरणमा सबै नागरिकलाई राहत वितरण गर्नका लागि अपुग भएको र जनप्रनिधिले नै कुन कुन व्यक्ति तथा घरधुरीलाई राहत उपलब्ध गराउने तथ्यांक एकिन गर्न नसकेपछि चामल र नुन बचेको हाे,' उनले भने, 'चामल र नुन सुपथ मूल्य पसलबाट बिक्री वितरण गर्ने र अतिविपन्न व्यक्ति कोही समर्कमा आए नि:शुल्क पनि वितरण गर्ने उद्देश्यका साथ कार्यपालिकाको बैठकले निर्णय गरी चन्दननाथ बहुउद्देश्यीय सहकारी र हिमालयन बहुउद्देश्यीय सहकारीले सञ्चालनमा ल्याएका सुपथ मूल्य पसललाई दिएको हाे।'
चामल र नुनकाे हिनामिना भएकाे भन्दा पनि हिसाब नभएकाे उनले बताए।
उनका अनुसार चन्दननाथ बहुउद्देश्यीय सहकारी संस्थाले गाउँपालिकाबाट गएको मंसिर २४ गते अनुदानको लागि आएको चामल वडाहरुमा बाँडे पछि बचेको जिरा मसिना चामल २५ प्याक, सोना मन्सुली चामल ५७ प्याक, अरुवा मोटो चामल ८१ प्याक, स्टार चामल २४ प्याक र ८१ क्विन्टल नुन सरकारीले सुपत पसलमार्फत बिक्री गर्न कार्यपालिका निर्णय अनुसार लिएको हो।
सहकारी प्रबन्धक रत्नराज शाहीले गाउँपालिकाको अनुदानको चामल वितरण पछि कुहिन थालेपछि गाउँपालिकाको निणर्य अनुसार सहकारीको पसलमा बिक्रीका लागि दिएको र केही गाउँपालिकाको सिफारीसका आधारमा वितरण गरिएको थियाे।
उनले भने, 'ढुवानी वापतको रकम पनि गाउँपालिकाबाट लिन बाँकी रहेको र १२ बोरा चामल गाउँपालिकाकै पदाधिकारीको सिफरीसमा विपन्न वर्गलाई वितरण गरिएको हो। चामल र नुन बिक्री गर्न अझै बाँकी छ। चामल र नुन बिक्री गरिसकेपछि पालिकालाई हिसाबकिताब बुझाउने सम्झौता भएकाले पनि ढिलो भएको हो। अब बाँकी रहेको चामल र बिक्री गरेको रकम पनि तत्काल फिर्ता गर्ने तयारी गरेका छौं।'