शिक्षण अस्पतालमा ६ घण्टा : सलाम स्वास्थ्यकर्मी !

अनलाइनखबर

काठमाडौँ

सागर बुढाथोकी

त्रिवि शिक्षण अस्पतालको इमर्जेन्सीमा ६२ वर्षीय कोरोना संक्रमित पीडाले छट्पटाइरहेका छन् ।

बर्बराउँदै मुखको अक्सिजन मास्क हातले झट्कार्दा उनी बेडबाट खसे । ‘ठीक हुँदै जानुभएको छ बुवा, नअत्तालिनुस्’ पीडाले अनियन्त्रित बिरामीलाई मुश्किलले बेडमा राख्दै ड्युटी नर्सले भनिन्, ‘शान्त हुनुस् त बुवा, तपाईंलाई एकैछिनमा आईसीयूमा सार्छौं ।’

इमर्जेन्सी कक्षमा सबैको ध्यान त्यतै छ । ती संक्रमित छट्पटाएको नहेर्दा पनि उनको कष्टपूर्ण आवाजले सबैको मन बिथोलिरहेको थियो ।

घट्दो अक्सिजन लेभल र अन्य दीर्घरोगको कारण जुनसुकै बेला जे पनि हुनसक्ने भेउ पाएकी नर्सले ती वृद्धलाई आईसीयूमा सार्नै पर्ने चिट लेखेर ड्युटी डाक्टर सुमन आचार्यलाई थमाइन् । तर, स्वास्थ्य मन्त्रालयको तथ्यांकमा जस्तो अस्पतालमा आईसीयू बेड खाली भए पो !

ती वृद्धको लागि आईसीयूको खोजी भइरहँदा इमर्जेन्सी बाहिर एक दर्जन संक्रमित आईसीयू बेडको प्रतीक्षामा थिए । अक्सिजन सपोर्टसम्म पाएका उनीहरूले त्यहाँ बस्दाबस्दै आईसीयू बेड नपाएर संक्रमित मरेको थाहा पाइरहेका थिए ।

अस्पतालको कोभिड व्यवस्थापनमा खटिएका वरिष्ठ छाती रोग विशेषज्ञ नीरज बम अनुहार कठोर बनाउँदै यथार्थ सुनाउँछन्, ‘आईसीयू बेड खाली हुन कोही संक्रमितको मृत्यु या डिस्चार्ज हुनुपर्छ । एकजना डिस्चार्ज या दिवंगत भए भने आईसीयूमा हाल्नैपर्ने संक्रमित पाँचभन्दा बढी हुन्छन् । स्थिति यो छ, हामी त कहिल्यै नसोचेको सकसमा छौं ।’

प्रकाशित मिति: : 2021-05-20 11:33:00

प्रतिकृया दिनुहोस्