दुवाकोटमा कागजी वीर अस्पताल : पाँच वर्ष दाता कुरियो, चुनावमा गाडेको बोर्ड खुइलियो

अनलाइनखबर

काठमाडाैं

भक्तपुरको दुवाकोटस्थित घाँसे मैदानमा एकतले भवनमा बोर्ड झुण्डिएको छ– विस्तारित वीर अस्पताल। दुवाकोटवासीलाई ओपीडी सेवा दिन वीर अस्पतालको सहयोगमा खोलिएको सामुदायिक स्वास्थ्य क्लिननिक मात्र हो यो। विशेषज्ञ चिकित्सक र मेडिकल पूर्वाधार नभएकाले यहाँ सेवा लिनेको संख्या न्यून छ।

सरकारले भनेअनुसार काम गरेको भए यतिबेला यहाँ हजार शय्याको सुविधासम्पन्न विस्तारित वीर अस्पताल चलिरहेको हुन्थ्यो। तर, ठूला योजना घोषणा गरेर हराउने, चुनावमा नयाँ बाचा गर्दै शक्तिमा पुग्ने अनि काम नगर्ने प्रवृत्तिको गतिलो विम्ब बनेको छ, दुवाकोटको यो कागजी अस्पताल।

‘विस्तारित वीर अस्पलाल निर्माण स्थल’ लेखिएको बोर्डका अक्षर मेटिन लागिसके। खुइलिएको बोर्डले सरकारलाई गिज्याइरहेको स्थानीय विनोद खनाल बताउँछन्। ‘यहाँ कागजको अस्पताल छ, बन्छ, बन्छ भनेर अर्को चुनाव जित्ने दाउ होला नेताज्यूहरुको,’ उनी ब्यङ्ग्य कस्छन्।

महामारीमा अस्पतालमा बेड, आईसीयू, भेन्टिलेटर र अक्सिजन समेत नपाएर जनता मनुपर्ने देशको सरकारले अस्पताल निर्माणलाई यस्तो गतिमा राखेको देख्दा भक्तपुरका रमेश दनेखुको चित्त पटक्कै बुझेको छैन। उनले ‘बोर्ड टाँगेर सरकार हराएको’ भन्दै समाजिक सञ्जालमा आक्रोश पोखेका छन्।

प्रकाशित मिति: : 2021-05-22 10:00:00

प्रतिकृया दिनुहोस्