निषेधाज्ञाले मल गोदाममै, अभावले कृषक पिरलोमा

अनलाइनखबर

काठमाडौँ

रवीन्द्र घिमिरे

मकवानपुरको मकवानपुरगढी–६ का कृष्णप्रसाद ढुंगानाको खेतमा रोपिएको चैते धानमा मल हाल्न बितिसक्यो । तर, निषेधाज्ञाका कारण उनी हेटौंडा बजारमा मल लिन जान पाएका छैनन् ।  ‘यहाँबाट बस, अटो गाडी केही चलेको छैन, आफ्नो सवारी पनि छैन’ उनी भन्छन्, ‘हिंडेर गएर मल ल्याउन सकिन्न, यसपालि चैते धानले मल नभेट्ने भयो ।’

मल हाल्न नपाएपछि धानको उत्पादन घट्ने मात्रै हैन, बोट समेत नसप्रिएर पराल पनि गतिलो नहुने उनको चिन्ता छ । स्थानीय सहकारीमा मल नभएपछि उनीहरुलाई हेटौंडा नगई सुख छैन । तर, हेटौंडा पुगेर मल ल्याउन सम्भव हुने अवस्था पनि छैन ।

मकवानपुरका मात्रै हैन, चितवनका किसानले पनि यही समस्या भोगिरहेका छन् । चितवनको राप्ती नगरपालिकाका कृषक रमेश शर्माले दुई हप्ताअघि मल खोज्दा सजिलै पाएनन् । स्थानीय सहकारीहरुले धेरै युरिया मल छैन भनेपछि उनले चाहिएजति मल हाल्न पाएनन् ।

किसानको चिन्ता लगाएका बालीका लागि मात्रै छैन, अब बाली लगाउँदा पनि मल नपाइने हो कि भन्ने छ । अहिले देशका धेरैजसो क्षेत्रमा असारको धानको बीउ राखिंदैछ । बीउ राखिएका र राख्ने तरखर गरिएका ब्याडमा हाल्न थोरै मलसमेत नपाएपछि किसानहरु चिन्तामा छन् ।

प्रकाशित मिति: : 2021-05-26 10:34:00

प्रतिकृया दिनुहोस्