विभिन्न जिल्लामा लागू गरिएको निषेधाज्ञा कार्यान्वयनको सिलसिलामा पछिल्लो २४ घण्टामा निषेधाज्ञा उल्लंघन गर्ने १ हजार ५ सय ३८ वटा सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
तीमध्ये ४ सय ५६ वटा गाडी र १ हजार ८२ वटा मोटरसाइकल रहेका छन्। नियन्त्रणमा लिएका सवारी साधनहरुलाई आवश्यक सोधपुछ पश्चात छोडिने गरिएको छ।
साथै नयाँ भेरियन्ट सहितको कोभिड(१९ संक्रमणको रोकथाम तथा जोखिम न्यूनीकरणका लागि नेपाल प्रहरीद्वारा संचालित ‘तपाईंको मास्क खोई?’ कार्यक्रम अन्तर्गत पछिल्लो २४ घण्टामा ९ सय ४० जनालाई निस्शुल्क मास्क वितरण गरिएको छ।
कोभिड(१९ रोकथाम तथा नियन्त्रणका लागि नेपाल सरकार स्वास्थ्य मन्त्रालयद्वारा तोकिएको मापदण्ड उल्लंघन गर्ने १ सय ९८ जनालाई संक्रामक रोग ऐन, २०२० बमोजिम २२ हजार रुपैयाँ जरिवाना गरिएको छ। साथै २ हजार ७ सय ४१ जनालाई रोकी सम्झाई बुझाई छाडिएको छ।
साथै देशभर सञ्चालित ९६ वटा माईकिङ, प्लेकार्ड, पर्चापम्प्लेटसहितको सचेतनामूलक कार्यक्रम अन्तर्गत १७ हजार १ सय ६ जनालाई सचेत गराइएको छ।
निषेधाज्ञा कार्यान्वयनलाई थप प्रभावकारी र सफल बनाउन नेपाल प्रहरीले अन्य सुरक्षा निकाय लगायतका सरोकारवालाहरुसँग आवश्यक समन्वय, सहकार्य गरी अनुगमनलाई समेत तिब्रता दिएको छ।