नयाँ अध्ययन भन्छ- कोरोना खोपले वर्षौंसम्म भाइरससँग लड्न सक्छ

सेतोपाटी

काठमाडाैं

कोरोना भाइरसविरूद्ध खोप लगाएपछि शरीरमा विकास हुने प्रतिरोधक क्षमता कम्तिमा एक वर्ष रहने र यो समयक्रममा अझ बलियो हुँदै जाने भएकाले सम्भवत: जीवनभर पनि रहन सक्ने दुईवटा नयाँ अध्ययनले देखाएका छन्।

कोरोना खोपले रोगसँग लड्न मद्दत गर्छ कि गर्दैन वा यसले कम समय मात्र काम गर्छ कि भन्ने भ्रम संसारभरि कायम रहेका बेला पछिल्ला अध्ययनहरूको निष्कर्षले सबैलाई खोप लगाउन प्रोत्साहित गर्ने वैज्ञानिकहरूको विश्वास छ।

अमेरिकी अखबार ‘द न्यूयोर्क टाइम्स’ ले दुइटा वैज्ञानिक जर्नलमा छापिएका अनुसन्धान प्रतिवेदन उद्धृत गर्दै भनेको छ, ‘एकचोटि कोरोना लागेर निको भइसकेका व्यक्तिले पहिलो खोप लगाएपछि दोस्रो डोज नलिए पनि हुने अध्ययनले देखाएको छ। एकचोटि पनि संक्रमण नभएको व्यक्तिले भने दुवै खोप लिनु जरूरी छ।’

‘कहिलेकाहीँ संक्रमण भइसकेको व्यक्तिमा शरीरले पर्याप्त प्रतिरोधक क्षमता विकास नगरेको हुनसक्छ,’ न्यूयोर्क टाइम्स लेख्छ, ‘त्यस्तो अवस्थामा दुवै डोज खोप लिनुपर्नेछ।’

यी दुवै अध्ययन करिब एक वर्षअघि कोरोना संक्रमण भएका व्यक्तिहरूमाथि गरिएका हुन्। 

दुईमध्ये एउटा अध्ययन–प्रतिवेदन अन्तर्राष्ट्रिय जर्नल ‘नेचर’ मा मंगलबार प्रकाशित भएको थियो। नेचरले नयाँ–नयाँ वैज्ञानिक शोधपत्रहरू सार्वजनिक गर्छ।

यो रिपोर्टअनुसार कोरोना लागेर निको भएका व्यक्तिमा हड्डीको भित्री तह (बोन म्यारो) मा रहेका कोषहरूबाट भाइरससँग लड्ने एन्टिबडी विकास हुन्छ। शरीरलाई भाइरससँग लड्न आवश्यक परेका बेला यस्तो एन्टिबडी विकास हुने उक्त रिपोर्टमा उल्लेख छ।

प्रकाशित मिति: : 2021-05-28 11:10:00

प्रतिकृया दिनुहोस्