झापा संघर्षका ३ एमाले नेता गणतन्त्रको विरुद्धमा थिए: वामदेव गौतम

फाइल तस्वीर
फाइल तस्वीर

नेकपा एमालेका नेता वामदेव गौतमले पार्टीले राजतन्त्रको अन्त्य र गणतन्त्रको नारा तय गर्दाताका झापा संघर्षका तीन नेता त्यसका विरुद्धमा रहेको बताएका छन्।

१४ औं गणतन्त्र दिवसका अवसरमा शनिबार शुभकामना सन्देश दिँदै नेता गौतमले एमालेको केन्द्रीय कमिटीको बहुमतले उक्त नारा तय गर्दा गणतन्त्रका लागि संघर्ष गर्नुपर्छ भनेर लिखित प्रस्ताव राख्ने व्यक्ति आफू भएको बताएका छन्।

'विडम्वना नै भन्नुपर्छ नेकपा एमालेको केन्द्रीय कमिटीको वहुमतले तत्कालीन संघर्षको मुख्य नारा राजतन्त्रको अन्त्य र गणतन्त्र स्थापना तय गर्दा चर्चित झापा संघर्षका विभिन्न पार्टीमा रहेका मुख्य ३ नेता विरुद्धमा हुनुहुन्थ्यो', उनले भने, 'त्यो वैठकमा अव संघर्षको मुख्य नारा गणतन्त्रको स्थापना हुनुपर्छ भनेर लिखित प्रस्ताव राख्ने व्यक्ति म थिएं।'

गणतन्त्र स्थापनामा गिरिजाप्रसाद कोइराला, माधवकुमार नेपाल र प्रचण्डको मुख्य भूमिका रहेको बताएका छन्।

‘वि.सं.२०६५ जेठ १५ गतेको अवस्थामा नेपाललाई पुर्‍याउने युगान्तकारी संघर्षका महानायकहरू भने नेपाली कांग्रेस पार्टीका सभापति गिरिजाप्रसाद कोइराला, नेकपा (एमाले) का महासचिव माधवकुमार नेपाल र नेकपा (माओवादी) का अध्यक्ष पुष्पकमल दहाल (प्रचण्ड) हुनुहुन्थ्यो,’ गौतमले भनेका छन्, उहाँहरु मध्ये गिरिजा प्रसाद कोइराला हामीबीच हुनुहुन्न अरु दुईजना भने नेपाली राजनीतिमा सक्रिय नै हुनुहुन्छ।'

एमाले नेता गौतमले गणतन्त्र दिवसको अवसरमा सबै शहीद र अग्रज नेताहरुलाई श्रद्धाञ्जली र सम्मान प्रकट गर्दै शहीदको सपना साकार पार्न नेपाली जनतालाई दृढतापूर्वक अगाडि बढ्न आह्वान गरेका छन्।

प्रकाशित मिति: : 2021-05-29 11:48:00

प्रतिकृया दिनुहोस्