शान्ति समाजद्वारा रक्तदान कार्यक्रम

BBC
BBC

नयाँ भेरियन्टसहितको दोस्रो चरणको कोरोना महामारीका कारण जारी निषेधाज्ञामा रगतको अभाव हुन नदिन जोरपाटीमा रक्तदान कार्यक्रम गरिएको छ।

गणतन्त्र स्थापनाको १४ औँ दिवसका अवसरमा  मानव अधिकार तथा शान्ति समाज र नयाँ बस्ती युवा क्लबद्वारा संयुक्त रुपमा आयोजित कार्यक्रमको  समाजका सल्लाहकार उत्तम पुडासैनीले संयोजन गरेका हुन्। कार्यक्रममा  ३४ जना ले रक्तदान गरेका छन्। 

अक्सिजन कन्सन्ट्रेटर सहयोग 

समाजले सिन्धुपाल्चोक जिल्लाको मेलम्ची नगरपालिका वडा नंं १ स्थित स्वास्थ्य समिति भोटेचौरलाई रु एक लाख मूल्यको अक्सिजन कन्सन्ट्रेटर सहयोग गरेको छ। 

समाजका महासचिव रामकृष्ण बरालले वडा अध्यक्ष कृष्णप्रसाद चौलागाईसहित स्वास्थ समितिका कर्मचारीलाई यही जेठ १२ गते उपकरण हस्तान्तरण गरेका हुन्। अक्सिजन कन्सन्ट्रेटर समाजका सल्लाहकार  चौँलागाई समेतको सौजन्यमा प्राप्त भएको थियो। 

समाजले सिन्धुपाल्चोक जिल्लाको मेलम्ची नगरपालिका वडा नं। १ बसोबास गर्ने एउटा हात गुमाएकी बालिका आशिना चौलागाईको शिक्षाका लागि अक्षयकोष स्थापनार्थ रु एक लाख सहयोग प्रदान गर्ने भएको छ। 

यही जेठ १२ गते समाजका महासचिव बरालले सो प्रयोजनका लागि सूर्यमुखी वहुउद्देश्य सहकारीका अध्यक्ष मित्रलाल चौलागाई र वडा नं १ का अध्यक्षको उपस्थितिमा समाजका तर्फबाट रु ३५ हजार नगद हस्तान्तरण गरेका थिए। बाँकी रु ६५ हजार थप गरी सो अक्षयकोषमा रु एक लाख पुर्याइने छ। 

खाद्य सामग्री

गणतन्त्र दिवसको अवसरमा समाजको रुपन्देही शाखाले सैनामैना नगरपालिका वडा नं ८ स्थित शान्तिटोल र भड्छाका टोलका कोभिड प्रभावित विपन्न ६० दलित परिवारका बालबालिका एवं जेष्ठ नागरिकलाई रु ७८ हजारको खाद्य सामग्री सहयोग प्रदान गरेको छ।

आज  बिहान समाजका सभापति गोविन्द खनाल, अधिकारकर्र्मी लालहरि पाण्डे, हरिश ढकाल, आजीवन सदस्य बिमलराज भट्टराईसहित पदाधिकारीले चामल, आँटा, अण्डा, चनासहितको खाद्य सामग्री हस्तान्तरण गरेका थिए। 

यसै अवसरमा समाजको दाङ शाखाले वैशाख महिनामा कारभित्र मृत अवस्थामा फेला परेका तीन जना बालकको परिवारलार्ई खाद्य सामग्री सहयोग गरेको छ। 

आज बिहान समाजका वरिष्ठ उपसभापति सुशील बस्नेत, सचिव निर्मल नेपाली र दाङ शाखा सभापति तुलसीराम सुनारले पीडित विपन्न दलित परिवारलाई सहयोग हस्तान्तरण गरेका हुन्। 

यसैगरी गणतन्त्र दिवसका अवसरमा आज समाजको चितवन शाखाले देवघाटमा रहेको बृद्धाश्रममा फलफूल तथा स्वास्थ सामग्री वितरण गरेको छ। दिवसकै अवसरमा शान्ति समाजको सुर्खेत, कपिलवस्तु लगायतशाखाले भर्चुअल कार्यक्रम गरेको जनाइएको छ। रासस 

प्रकाशित मिति: : 2021-05-29 18:11:00

प्रतिकृया दिनुहोस्