दुःख घण्टी बजाउँदै आउँदैन भन्ने भनाई नै छ नि नेपाली जनमानसमा। यस्तै, दुःखको बज्रपात भएको छ, विराटनगर महानगरपालिका वडा नम्बर–१ स्थित ढुंगाना परिवारलाई।
कोरोना महामारीका कारण तीनपैनीस्थित नयाँ जिल्ला प्रहरी कार्यालय (जिप्रका) रहेको टोलको एकै परिवारका तीन जनाले तीन दिनको अवधिमा ज्यान गुमाएका छन्। परिवारका एक जना सदस्य भने कोशी अञ्चल अस्पतालको कोभिड–१९ कक्षमा उपचार गराइरहेका छन्।
बुवा केही समयदेखि मृगौलाको समस्याबाट पीडित थिए। उनको डाइलासिस भइरहेको थियो। अस्पतालमा डाइलासिस गर्ने क्रममा उनलाई कोरोना भाइरसको संक्रमणले छोएको आशंका गरिएको छ।
बुहारी भने इटहरीस्थित माइतीमा भएका कारण उनलाई कोरोना सर्न पाएन।
गत साता स्वासप्रस्वासमा समस्या देखिएपछि परिवारका सबै सदस्य अस्पताल भर्ना भएका थिए। तर, हजुरआमा, बुवा र आमाको तीन दिनको अन्तरालमा निधन भयो।
छोराले अस्पतालमा उपचारार्थ रहेका कारण दागबत्ती दिन पाएनन्। त्यसैले सुरक्षाकर्मीकै रोहवरमा उनीहरूको सद्गद् भएको आफन्त अरुण न्यौपाने बताउँछन्।
यो घटनापछि छिमेकीमा त्रासको वातावरण छ। हजुरआमाको उमेर ८१ वर्ष थियो, बुवा ६२ तथा आमाको उमेर ५९ वर्ष भएको परिवारले जनाएको छ।
परिवारका तीन सदस्यको निधन भएपछि छोराको स्वास्थ्य लाभका लागि घरपरिवार तथा छरछिमेकले प्रार्थना गरिरहेका छन्। अहिले छोराको स्वास्थ्यमा निकै सुधार आएको छ।