सरकारको झूटो दाबी : अक्सिजन अभावमा कसैको मृत्यु भएको छैन

अक्सिजन अभावका कारण पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचाररत ८ जना कोरोना संक्रमितको एकै दिन मृत्यु भएको विषयमा विपक्षी दलहरुले सरकारसँग जवाफ मागेका छन्। तर सरकारले कमजोरी ढाकछोप गर्न खोज्दा अक्सिजनको अभावका कारण कसैको मृत्यु नै नभएको दाबी गरेको छ।

प्रदेशसभाको बजेट अधिवेशनको पहिलो दिन दलका नेताहरु बोल्ने कार्यसूची थियो। कोरोना संक्रमित हुँदा पनि उद्घाटन र शिलान्यासमा  हिंडेको भन्दै आलोचना खेपेका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ प्रदेशसभामा उपस्थित थिएनन्।

दुई दिनअघि मात्र प्रदेशकै ठूलो सरकारी अस्पताल पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा अक्सिजन अभावका कारण ८ जना कोरोना संक्रमितले ज्यान गुमाएका थिए। संक्रमितले ‘हाइफलो’ अक्सिजन नपाउँदा मृत्युवरण गर्नु परेको थियो।

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका संसदीय दलका नेता कृष्णचन्द्र नेपालीले प्रदेशकै राजधानीको यो घटनाले कोभिड महामारीमा प्रदेश सरकारको तयारी झल्काउने बताए। ‘प्रदेशका सबै अस्पतालमा अक्सिजनको कमी छैन, जिल्लाका सबै अस्पतालमा अक्सिजन पुर्‍याइसक्यौं भन्नुभएको थियो,’ उनले भने, ‘तर प्रदेशकै ठूलो अस्पतालमा अक्सिजनको सुत्केरीसहित ८ जनाको निधन भएको छ। यसबाट प्रदेश सरकारको कोभिड नियन्त्रण क्षमता स्पष्ट भएको छ।’

आफूहरुले कोरोना महामारीमा केन्द्रित हुन पटकपटक आग्रह गर्दा पनि नसुनेको उनको आरोप छ। पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा भएको घटनाप्रति प्रदेश सरकारले सार्वजनिक रुपमै माफी माग्नुपर्ने उनको भनाइ थियो। ‘अक्सिजन नआएर जसरी संक्रमितले ज्यान गुमाए, यो सामान्य कुरा होइन,’ उनले भने, ‘यस विषयमा सरकारले सार्वजनिक रुपमा माफी माग्नुपर्छ।’

प्रकाशित मिति: : 2021-05-30 21:09:00

प्रतिकृया दिनुहोस्