बलिदानीपूर्ण संघर्षबाट प्राप्त उपलब्धि गुम्दै जाने खतरा: प्रचण्ड

फाइल तस्वीर
फाइल तस्वीर

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले सामन्ती राज्य व्यवस्थाविरुद्धको बलिदानीपूर्ण संघर्षबाट प्राप्त उपलब्धि अहिले गुम्दै जाने खतरा पैदा भएको बताएका छन्।

जातीय भेदभाव तथा छुवाछुत उन्मुलन राष्ट्रिय दिवसको अवसरमा शुभकामना दिँदै प्रचण्डले सामन्तवादका उपज सामाजिक कलङ्कका रुपमा रहेको जातीय भेदभाव तथा छुवाछुत हटाई सामुदायिक सहिष्णुता कायम राख्न अग्रगामी शक्तिहरुका बीच एकतावद्ध पहलकदमीको आवश्यकता भएको बताए।

सामाजिक जागरण अभियान र कठोर कानूनी उपचारले मात्र यस्ता सामाजिक अपराधलाई निर्मूल गर्न सकिने उनले बताए।

अध्यक्ष प्रचण्डले मानिसले मानिसमाथि गर्ने भेदभाव र छुवाछुत २१ औं शताब्दीको मानव समुदायका लागि लज्जाको बिषय बताएका छन्।

उनले भनेका छन्, 'आजको विकसित दुनियाँमा पनि जातीय भेदभाव र दलित समुदायमाथिका विभिन्न प्रकारबाट हिंसा भइरहेका छन्। संविधान र कानूनमा भएको व्यवस्था मात्र कठोरतापूर्वक कार्यान्वयन गर्न सके पनि यसप्रकारका हिंसा न्यूनीकरण हुन सक्छ र उत्पीडित समुदायहरुले न्यायको अनुभूति गर्न सक्छन्।'

‘जातीय छुवाछुत, भेदभाव, हिंसा सम्बन्धी संविधान र कानुनमा भएको व्यवस्था प्रभावकारी कार्यान्वयन गर्न राज्य संयन्त्रलाई निर्देशित गर्ने र जातीय हिंसा र छुवाछुविरुद्ध जनचेतना लगायतका कार्यक्रम संचालन गर्नुपर्छ,’ उनले भने।

प्रचण्डले स्थानीय तहसम्म निगरानी संयन्त्र बनाई जातीय भेदभाव तथा छुवाछुतको अन्त्य गर्ने कार्यमा जुट्न सबैलाई आग्रह गरेका छन्।

प्रकाशित मिति: : 2021-06-04 13:57:00

प्रतिकृया दिनुहोस्